काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन ।’
‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ मन्त्री महतले भने ।
यसै वर्ष सबै काम हुन्छ भन्ने होइन । सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको उनको भनाई थियो ।
यसको निर्माणपछि नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई ठूलो सहयोग पुग्ने भन्दै उनले निर्माण सम्पन्न हुनका लागि केही वर्ष पर्खिनु पर्ने बताए ।
‘बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएका छन् । स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौं, बाटो गाउँ गाउँमा पु¥याउन सकौं भन्ने सबैको चाहना हो । आम्दानी नभइ खर्च गर्न सकिँदैन’ मन्त्री महतको भनाइ थियो ।
‘धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको छ । धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं । स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैैन’ मन्त्री महतले भन्नुभयो, ‘टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रवन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदैछ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ ।’
‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पु¥याउने प्रयास गरेका छौं’ मन्त्री डा. महतले भने ।
‘गंगटेदेखि समुन्द्रटार मात्र होइन, थोर्पुभञ्ज्याङसम्म सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । यसैगरी विभिन्न शीर्षकमा विभिन्न ठाउँलाई त्यहाँको विकासलाई केन्द्रित गरेर बजेट छुट्टाइएको छ । जे जहायज छ, जे आवश्यक छ, जे न्यायोचित छ, हामीले बजेट विनियोजन गरेका छौं, मन्त्री महतले भने, ‘ककनीको बाटोको कुरा पनि समेटिएको छ, त्यहाँबाट पिपलटार–त्रिशुली जाने बाटोको निर्माण व्यवसायी अदालत गएका कारण हामीले बजेट विनियोजन गर्न सकेनौं ।’


