कम्प्याक्ट ह्याचब्याकमा स्वीफ्टको दबदबा, टपटेनमा कुन परे ?

सवारी प्रयोगकर्ताहरुले पहिलो पटक ह्याचब्याक सेगमेन्टकै कार खरिद गर्ने गरेका छन् । त्यसैले यो सेगमेन्टका कारण विक्री अन्य मोडल भन्दा धेरै हुने गरेको छ । विश्वमा सबैजसो कम्पनीहरुले ह्याचब्याक सेगमेन्टका सवारी उत्पादन गर्दै आएका छन् ।

भारतीय बजारमा ह्याचब्याक कार सेगमेन्टमा मारुती सुजुकीको दबदबा रहेको छ । आर्थिक वर्ष २०१८/१९ मा भारतमा मारुती सुजुकी स्वीफ्ट सबैभन्दा धेरै बिक्री हुने कम्प्याक्ट ह्याचब्याक बनेको छ । गत वर्ष २ लाख २३ हजार ९ सय २४ वटा स्वीफ्ट बिक्री भएको थियो । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले वृद्धि हो ।

२०१८ को फेब्रुअरीमा मारुती सुजुकीले तेस्रो पुस्ताको स्वीफ्ट बजारमा ल्याएको थियो । सुजुकीको स्वीफ्ट पछि धेरै बिक्री हुने ह्याचब्याक कारमा वेगनआर रहेको छ । गत वर्ष मारुती सुजुकीले १ लाख ५१ हजार ४ सय ६२ वटा वेगनआर बिक्री गरेको थियो । मारुतीले २०१९ को जनवरीमा न्यूजेन वेगनआर बजारमा ल्याएको थियो ।

धेरै बिक्री हुने ह्याचब्याक कारको तेस्रो स्थानमा हुन्डाई ग्रान्ड आइटेन रहेको छ । गत वर्ष ग्रान्ड आइटेको बिक्री १७ प्रतिशतले घट्दै १ लाख २६ हजार ४१ वटा बिकेको थियो । चौथो स्थानमा मारुती सुजुकी कै सेलेरियो रहेको छ । गत आवमा १ लाख ३ हजार ७ सय ३४ वटा सेलेरियो बिक्री भएको थियो ।

पाँचौं स्थानमा टाटाको टियागो रहेको छ । टियागो वार्षिक १७ प्रतिशतले बिक्री वृद्धि भई ९२ हजार ३ सय ६९ वटा पुगेको छ । त्यस्तै छैटौं स्थानमा २०१८ को अक्टोबरमा सार्वजनिक भएको हुन्डाई अल न्यू सेन्ट्रो रहेको छ । गत वर्ष हुन्डाई अल न्यू सेन्ट्रो ४७ हजार ८ सय ९६ वटा बिकेको थियो । सेन्ट्रो पछि मारुतीको इग्नीस सातौं स्थानमा रहेको छ । यो ह्याचब्याक कार गत वर्ष ३६ हजार १ सय ४४ वटा बिक्री भएको थियो ।

भारतमा धेरै बिक्री हुने कम्प्याक्ट ह्याचब्याक कारको सूचिमा आठौं स्थानमा टोयोटा लिभा रहेको छ । जुन गत वर्ष १५ हजार ६३ वटा बिक्री भएको थियो । त्यस्तै नवौं र दसौं स्थानमा क्रमशः ड्याटसन गो र निसान माइक्रा रहेको छ । गत आवमा गो ५ हजार ६ सय ५३ वटा र माइक्रा ३ हजार ८ वटा बिक्री भएको तथ्यांक छ ।


Back_to_top