काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाले हाइड्रोजन फ्युल सेलबाट चल्ने स्कुटरको पेटेन्ट फाइल दर्ता गरेको छ ।
टोयोटाले पहिलो पटक दुई पाङग्रे सेग्मेन्टमा प्रबेश गर्ने योजना सहित हाइड्रोजन फ्युल सिस्टमबाट चल्ने स्कुटरको प्याटेन्ट दर्ता गराएको हो । जापानी उत्पादकले सुजुकीसँगको सहकार्यमा हाइड्रोजन फ्युलबाट चल्ने स्कुटर ल्याउन लागेको हो ।
सुजुकी मोटरसाइकल र स्कुटर उत्पादनमा अग्रणी कम्पनी मानिन्छ । ‘जापान हाइड्रोजन स्मल इन्जिन मोबिलिटी एण्ड इनर्जी एसोसियसन’ अन्तर्गत टोयोटा र सुजुकीले मिलेर यो प्रोजेक्ट अगाडि बढाएका हुन् । नयाँ स्कुटरको प्याटेन्ट दर्ता भने टोयोटा कम्पनीबाट गरिएको छ ।
उक्त पेटेन्ट अनुसार स्कुटर पुरानो सुजुकी बर्गम्यान ४०० कै प्लेट फर्ममा आधारित रहेर स्कुटर आउने छ । परम्परागत इन्धनबाट चल्ने स्कुटरको सट्टा सजिलै हाइड्रोजन सिलिण्डर राख्न र खोल्न मिल्नेगरी डिजाइन गरिएको कम्पनीको दावी छ ।
स्कुटरको ओभरअल बडी डिजाइन बर्गम्यान जस्तै हुनेछ । पेटेन्टमा देखाइएअनुसार हाइड्रोजन क्यानिस्टर स्कुटरको अगाडिको भागमा राखिएको छ । जसलाई बाहिरतर्फ झिकेर सजिलै बदल्न सकिन्छ । अर्को डिजाइनमा रिट्र्याक्टेबल (तन्किने) आर्म प्रयोग गरिएको छ । जसले ट्याङ्कलाई साइडतर्फ निकालेर हटाउन सहयोग गर्छ ।
कम्पनीले ल्याउने स्कुटरमा प्रयोग भएको फ्युल-सेल प्रविधि हाइड्रोजनबाट विद्युत उत्पादन गर्ने बढी प्रभावकारी तरिका मानिन्छ ।
यसअघि सुजुकीले २०२३ को जापान मोबिलिटी शोमा हाइड्रोजन-पावर्ड बर्गम्यान स्कुटर प्रस्तुत गरेको थियो । जसमा ७० एमपीए हाइड्रोजन ट्याङ्क र हाइड्रोजनबाट चल्ने इन्जिन प्रयोग भएको थियो ।
जापान हाइड्रोजन स्मल इन्जिन मोबिलिटी एण्ड इनर्जी एसोसियसन’ अन्तर्गत सुजुकी र टोयोटाका अलावा होण्डा, यामाहा र कावासाकी पनि समावेष छन् । यी कम्पनीले आफ्नै छ्ट्टा छ्ट्टै कन्सेप्टमा काम गरिरहेका छन् ।
विश्व बजारमै अहिलेसम्म कुनै पनि हाइड्रोजनबाट चल्ने दुई पाङ्ग्रे साधनको व्यवसायीक उत्पादन सुरु भएको छैन ।


