तीन दिनपछि बजारमा आउँदै टोयोटा ‘हाइडर’, यस्ता छन् मुख्य ७ फिचर

काठमाडौं । प्रसिद्ध जापानी ‘मासमार्केट ब्राण्ड’ टोयोटाले नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । भारतीय बजारमा जुलाई १ तारिखमा सार्वजनिक गर्ने तयारी भइरहेको अर्वान क्रुजर हाइडर एसयूभीका थुप्रै तस्विरहरु कम्पनीले सार्वजनिक गरिसकेको छ ।

भारतमा टोयोटा र मारुती सुजुकी मिलेर उत्पादन गरेको नयाँ एसयूभी तत्काल नेपाल भने आउने छैन । यी दुई बीचको साझेदारी अहिले भारतीय बजार केन्द्रित रहेको कारण सन् २०२४ पछि मात्रै दुई ब्राण्ड मिलेर उत्पादन गरेका गाडी अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेछन् ।

टोयोटाले हाइडरलाई विशेषगरी हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन र स्कोडा कुशकसँग प्रतिस्पर्धा गर्नेगरी बजारमा ल्याउन लागेका हुन् ।

१. कनेक्ट कार फिचरः टोयोटाले हाइडरलाई आधुनिक टेक्नोलोजीसँग जोड्न कुनै कसर बाँकी नराखेको विश्लेषण भइरहेको छ । कम्पनीले यसमा टोयोटा आई-कनेक्ट दिएको छ ।

२. अटोमेटीक क्लाइमेट कन्ट्रोलः टोयोटा अर्वान क्रुजर हाइडर पूर्ण अटोमेटीक क्लाइमेट कन्ट्रोल फिचरको साथ बजारमा आउने छ ।

३. लेदरले मोरिएको ड्यासबोर्डः कम्पनीले सार्वजनिक गरेको विभिन्न भिडियोलाई आधार मान्दा टोयोटाले यसको ड्यासबोर्ड पूर्णरुपमा लेदरले ढाकेर तयार गरेको छ । साथै, यसको विभिन्न स्थानमा सिल्भर कलरको क्रोम स्ट्रीप प्रयोग गरिएको छ ।

४. सबै लाइट एलइडीः टोयोटा ‘अर्वान क्रुजर हाइडर’मा स्ल्पीट हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, एलइडी हेडल्याम्प, एलइडी टेललाइट दिइएको छ ।

५. हाइब्रिड इन्जिनः टोयोटाले यसमा १.५ लिटर सेल्फ चार्जिङ हाइब्रिड इन्जिन दिनेछ । विभिन्न दुई इन्जिन अप्सन रहने अनुमान गरिएको हाइडरमा १.५ लिटर पेट्रोल र १.५ लिटर हाइब्रिड इन्जिन ग्राहकले पाउने छन् ।

६. इन्फोटेन्टमेन्ट सिस्टमः टोयोटाले नयाँ एसयूभीमा फ्री स्टाइडिङ ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । यसले स्मार्ट प्लेकाष्ट प्रो सिस्टम, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्छ ।

७.दुई कलरको अलोय ह्वीलः गाडीको रोड प्रेजेन्सलाई उत्कृष्ट बनाउन अलोय ह्वील प्रयोग गरिन्छ । कम्पनीले हाइडरमा १७ इन्चको दुई कलरमा सजिएको अलोय ह्वील दिएको छ ।


Back_to_top