टोयोटाले ल्याउँदै नयाँ पेट्रोल इन्जिन, माइलेजले इलेक्ट्रीकलाई टक्कर दिने

काठमाडौं । विश्व अटोमोबाइल इन्डष्ट्री ईभीतर्फ झुकाव राखिरहेको बेला जापानी अटो जायन्ट टोयोटालाई भने अझै पनि परम्परागत कम्बस्चन इन्जिनमै विश्वास रहेको देखिन्छ । अन्य ब्राण्डहरु ईभीमा केन्द्रित भइरहेको र इन्जिन विकासमा काम रोकेको समयमा टोयोटाले भने नयाँ इन्जिन विकास गर्न लागेको हो । नयाँ इन्जिन माइलेज र प्रदुषणको मामलामा उत्कृष्ट रहने रिपोर्टहरु बाहिर आएका छन् ।

यद्यपि, टोयोटाले इलेक्ट्रीक, फ्युलसेल, हाइड्रोजन तथा हाइब्रिड इन्जिनका गाडी पनि बनाइरहेको छ । अब छिटै नै टोयोटाले नयाँ आइसीई इन्जिन लन्च गर्दैछ । जसको फ्युल इफिसियन्सी हालसम्मकै उत्कृष्ट हुने दाबी गरिएको छ ।

टोयोटाको चिफ टेक्निकल अफिसर हिरोकी नाकाजिमाले १.५ देखि २.० लिटरमा चार सिलिण्डरको नयाँ इन्जिन विकास गरेकाे जानकारी दिएका छन् । जसको थर्मल इफिसियन्सी ४० प्रतिशत भन्दा धेरै रहने उनले बताए ।

विभिन्न मिडिया रिपोर्ट अनुसार टोयोटाको नयाँ इन्जिनको इफिसियन्सी निसानको हाइब्रिड ई-पावरको भन्दा ५० प्रतिशतभन्दा धेरै हुनेछ ।

टोयोटाका इन्जिनीयरहरूले हाइड्रोजन कार बनाउँदा पत्ता लगाएको हिट इफिसियन्सी सम्बन्धी ज्ञान नयाँ इन्जिनमा लगाएका छन् । नाकाजीमाका अनुसार टोयोटाको नयाँ इन्जिनमा पिस्टन स्ट्रोक अहिलेकोभन्दा छोटो हुनेछ । साथै इनलाइन फोर सिलिण्डर इन्जिनको साइज समेत सानो हुनेछ । जसका कारण कारको अग्र भागमा धेरै स्पेसको आवश्यकता नपर्ने हुनाले एयर फ्लो धेरै हुन गई इफिसियन्सी बढ्नेछ ।

तर, यस्तो सेटअपमा टर्क भने घट्ने सम्भावना हुन्छ । यसका लागि इन्स्ट्याण्ट पावर बुस्टरको रूपमा इलेक्ट्रीक मोटरको प्रयोग गर्न सकिनेछ । टोयोटाको यो नयाँ इन्जिन सुरूआतमा हाइब्रिड कारमा प्रयोग हुनेछ । जसमा पेट्रोलको साथै अल्टरनेटिभ फ्युलको रूपमा हाइड्रोजन, बायोफ्युल वा सिन्थेटिक फ्युलको प्रयोग हुनेछ ।

टोयोटाको यो नयाँ इन्जिन पूर्णतया नयाँ तथा युनिक हुने भएकोले प्याटेन्ट दर्ता हुने नै छ भने यसको डिटेल्स छिटै बाहिरिने छ । टोयोटाले यो इन्जिनका बारेमा पूरा जानकारी नदिएता पनि सन् २०२७ सम्ममा लन्च भइसक्ने अनुमान गरिएको छ ।


Back_to_top