काठमाडौं । चालु आर्थिक वर्षमा टोयोटाको नाफामा उच्च गिरावट आउने प्रक्षेपण गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०२५ (मार्च २०२६ सम्म) कम्पनीको खुद नाफा ३४.९ प्रतिशतले घट्ने अनुमान गरेको हो ।
यस वर्ष कम्पनीले खुद नाफा ३.१ ट्रिलियन येन (करिब २१.६ अर्ब अमेरिकी डलर) हुने अनुमान गरेको छ । हालै सकिएको आव २०२४ मा कम्पनीले ४.७७ ट्रिलियन येनको खुद नाफा कमाएको थियो । यद्यपि, यो नाफा सन् २०२३ को तुलनामा ३.६ प्रतिशतले कम हो ।
त्यस्तै, चालु वर्षमा कम्पनीको संचालन नाफा २०.८ प्रतिशतले खुम्चिएर ३.८ ट्रिलियन येन (२६ अर्ब अमेरिकी डलर) हुने अनुमान गरिएको छ । हालै सकिएको आव २०२४ मा कम्पनीको संचालन नाफा ४.८ ट्रिलियन येन थियो ।
कम्पनीको व्यापार र नाफामा उच्च गिरावट आउने मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च भन्सार शुल्कलाई मानिएको छ । ट्रम्पले गत मार्चदेखि जापानलाई थप २४ प्रतिशत भन्सार लगाएका थिए ।
जसको असर स्वरुप सन् २०२५ को अप्रिल र मे महिनामै टोयोटाको सञ्चालन नाफा १८० अर्ब येनले घट्ने कम्पनीले उल्लेख गरेको छ । टोयोटाले जापानबाट वार्षिक करिब ५ लाख युनिट गाडी अमेरिका निर्यात गर्छ ।
त्यस्तै, टोयोटाको नाफा घट्ने अर्को कारण हो जापानी मुद्राको अमूल्यन । अमेरिकी डलरको तुलनामा जापानी येनको विनिमय दर घट्नुले पनि नाफामा प्रभाव पार्ने कम्पनीको अनुमान छ । आर्थिक वर्ष २०२५ को लागि, येनको मूल्य वृद्धिले टोयोटाको संचालन नाफा ७४५ अर्ब येनले घटाउने अनुमान गरिएको छ ।
अमेरिकमा सवारी बिक्री प्रभावित हुने देखिए पनि टोयोटाले चालु आवमा उत्तरी अमेरिकामा २९ लाख ४० हजार सवारी साधन बेच्ने लक्ष्य राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.८५ ले वृद्धि हुनेछ।