लकडाउनमा मापसे गर्ने भेट्टिए, पास दुरुपयाेग गर्ने माथि ट्राफिक निगरानी बढाइदै

काठमाडौँ । कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएको छ । लकडाउन अवधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न थालेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायवधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएको छ । त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारवाही गर्ने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

उनले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न, पास छ भनेर शान देखाउँदै हिँड्ने गरेको समेत भेटिएको बताए । ‘पासको दुरुपयोग गरिएको पाइएको छ, त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको छ,’ ढकालले भने ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९७४ सवारी साधन होल्ड गरिएको छ । साथै १ हजार ८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

उनले अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागि सिभिल प्रहरी खटाइएको बताए । साथै सीसीटीभीबाट समेत कडा निग्रानी गरिएको उनले बताए ।

लकडाउनको अवधीमा मापसे गरी सवारी चलाउने, तीव्र गतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरी लकडाउन अवधिभर होल्ड गरिने ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ । यस्तै अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको जनाइएको छ ।

चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गरिरहेको छ ।


Back_to_top