काठमाडौं । कतै खुल्ला सडक त कतै अत्याधिक भीड । कहिले शान्त त कहिले साइरनको तिखो आवाज ! राजधानीबासीले वर्षौंदेखि भोग्दैआएको समस्या हो । यहाँका सडकमा ट्राफिक लाइट त छन्, तर नबलेकै वर्षौ भयो ।
लाइटको अभावमा धूलो–धूवाँ र घामपानी नभनी सडकमा बसेर ट्राफिक व्यवस्थापनमा खटिन ट्राफिक प्रहरीलाई कम्ती सकस छैन ।
राजधानीका प्रमुख २० चोकमा २०२३ सालमा जापानी सहयोग नियोग (जाइका) ले ट्राफिक लाइट जडान गरिदिएको थियो । त्यस्तै, २०५० को दशकमा जापान सरकारले नै राजधानीका थापाथली, त्रिपुरेश्वर, माइतीघर, पद्मोदयमोड, नयाँबानेश्वर, कोटेश्वर, सातदोबाटो, केशरमहल, लैनचौर, महाराजगन्ज चक्रपथमा ट्राफिक लाइट थप गरिदिएको थियो । आज पनि ती लाइट सडकमा छन्, तर बल्दैनन् ।
तीनचोकमा मात्रै बल्छन्, ट्राफिक लाइट
यसबीचमा राजधानीमा निकै उथल–पुथल भएको छ, धेरै राजनीतिक परिवर्तनका साक्षी यी सडकमा रहेका बत्ति पनि छन्, तर बल्ने शक्ति उनीहरूमा छैन । अहिले काठमाडौंमा जनसङ्ख्यामात्र बढेको छैन, उत्तिकै मात्रामा सडक र सवारीसाधन पनि बढेको छ ।
राजधानीका तीन व्यस्त चोकहरूमा मात्रै अहिले ट्राफिक लाइटहरू बल्छन् । अहिले महाराजगञ्ज, थापाथली र नयाँबानेश्वर चोकमा लाइटहरू बल्ने गरेको देख्न सकिन्छ । तर, यो पनि सधैँजसो भने बल्दैनन् ।
बेला–बेलामा ती लाइटहरूमा समस्या देखिने गरेकोले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरूलाई निकै सकस हुने गरेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जयराज सापकोटाले मेरोअटोलाई बताए ।
विकसित मुलुकमा आकस्मिक अवस्थामा बाहेक ट्राफिक व्यवस्थापन ट्राफिक बत्तिबाटै निर्देशित हुन्छन् । ट्राफिक लाइटको सही प्रयोगका कारण दुर्घटना न्यूनीकरणमा सघाउ पुग्छ भने सडक व्यस्थापनमा पनि थोरै जनशक्ति परिचालन गरे पुग्छ । तर, हाम्रो देशमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीको ठूलो जनशक्ति उच्च जोखिम मोलेर खटिन बाध्य छन् भने ट्राफिक लाइट नहुँदा सडक अनुशासनबारे सडक प्रयोगकर्ता अनभिज्ञ देखिन्छन् ।
नयाँ थप्दै विभाग
ट्राफिक लाइट जडान र मर्मतको जिम्मेवारी सडक विभागको हो । विभागले राजधानीका चोकहरूमा जीर्णावस्थामा रहेका ट्राफिक लाइटको मर्मत पनि गरेको छैन । पुराना ट्राफिक लाइटको मर्मत प्रक्रिया निकै झन्झटिलो रहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सीडीई दीपबाराहीले मेरोअटोलाई बताए ।
‘पुराना ट्राफिक लाइटहरू बनाउन विदेश नै लैजानुपर्ने हुन्छ । त्यहाँ लैजाने, बनाउने र ल्याउने गर्दा फेरि बिग्रिहाल्छ । अब कहाँ लैजाने ? नेपालमा यो बनाउन सकिन्न । त्यसैले यसको झन्झट किन गर्ने ?’, बाराहीले भने ।
ती ठाउँमा जडित ट्राफिक लाइट मर्मत गर्न उपकरण र प्राविधिक जापानबाटै झिकाउनुपर्ने भएकाले समस्या रहेको उनको दाबी छ ।
८ चोकहरूमा थपिँदै ट्राफिक लाइट
राजधानी २१ चोकहरूमा ट्राफिक लाइट जडान गर्न लागिएको ट्राफिक महाशाखाले बताएको छ । तर, अहिले विभागले नौ चोकहरूमा मात्रै ट्राफिक लाइट राख्ने प्रक्रिया सुरु गरेको छ । विभागले राजधानीको सिंहदरबार, बागबजार, कालिमाटी, तीनकुने, मित्रपार्क, पद्मोदयमोड, थापाथली, गौशाला र पुरानो बानेश्वरमा ट्राफिक लाइट जोड्न लागेको हो ।
करिब चार महिनामा ट्राफिक लाइट जोड्ने काम सक्ने गरी विभागले प्रजिल कन्स्ट्रक्सनसँग सम्झौता गर्न लागेको बाराहीले जानकारी दिए ।
१ करोड ५० लाखमा लाइट राखिँदै
विभागले अबको चार महिनामा राजधानीका विभिन्न चोकहरूमा ट्राफिक लाइट बाल्ने काम हुने विभागको दाबी छ ।
राजधानीमा ट्राफिक लाइट व्यवस्थापनका लागि सरकारले आर्थिक वर्ष २०७५–०७६ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ । यसै बजेटबाट विभागले ट्राफिक लाइट व्यवस्थापन गर्न लागेको हो ।

