जीप–कम्पासलाई भारतीय बजारको सबैभन्दा सफल ब्रान्डको रुपमा लिइने गरिन्छ । कम्पासको सफलताबाट उत्साहित कम्पनीले भारतीय बजारमा जीप कम्पासको टप भेरिएन्ट ‘ ट्रेलहक’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
जीपले डिजेल भर्सनको ‘ ट्रेलहक’लाई दिल्ली–मुम्बई हाईवेमा परीक्षण गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साथै, मिडियाले परिक्षणका स्पाई-फाेटाेहरू समेत सार्वजनिक गरेको छ । २.० लिटर मल्टीजेट डिजेल इन्जिन रहेको ‘ट्रेल–ह्वाक’ ले १७० बीएचपी पावरका र ३५० एनएम–टर्क उत्पादन गर्छ ।
‘ ट्रेलहक’ मा ९ स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन दिइएको छ भने, यस एसयूभीको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । जुन यसअघिको रेगुलर भेरियन्टको तुलनामा २० एमएमले बढी हो ।
फ्रन्ट बम्परको सजावटले एसयूभीलाई निकै अग्रेसिभ लूक दिएको छ । लो–रेसियो ट्रान्सफरको कारण अन्य मोडलको तुलनामा यो कार प्रतिस्पर्धी बन्ने कम्पनीले विश्वास लिएको छ । १७ इन्च एलोय ह्वील रहेको ‘ ट्रेलहक’ भारतीय बजारमा २८ लाख भारतीय रुपैयाँमा बिक्री वितरण हुने अनुमान गरिएको छ ।
आउला नेपाल ?
करिब २ महिना अगाडिबाट जीपका उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरु भएको हो । अहिले नेपालमा कम्पासका बिभिन्न १० भेरिएन्टको बिक्री वितरण भइरहेको छ । चाँडैनै कम्पासको लिमिटेड एडिसन नेपाली बजारमा ल्याउन लागिएको नेपालका लागि जीपको आधिकारी वितरक एमएडब्लु लाईफ स्रोतले बतायो ।
‘ ट्रेलहक’ भारतीय बजारमा सार्वजनिक हुने तयारी भइरहेको छ, हामी पनि भारतमा लञ्चभएको केहि समयपछि नै नेपाली बजारमा ल्याउने छौं, एमएडब्लु लाईफ स्रोतले मेरोअटोसँग भन्यो ।
नेपाली बजारमा आउने हो भने यसको मूल्य १ करोड ३० लाखभन्दा माथि पर्ने अनुमान गर्न सकिन्छ ।


