काठमाडौं । नेपाली बजारमा उपलब्ध ७ सिट क्षमताको ट्राइबर निकै सफल गाडी हो । यसअघि म्यानुयल भेरियन्ट मात्र उपलब्ध रेनो ट्राइबरको अटोमेटीक भेरियन्ट पनि नेपाल आएको छ ।
एड्भान्स अटोमोवाइलले विक्री गर्दै आएको रेनो ट्राइबर ७ सिट क्षमताको सबैभन्दा कम मूल्यको कार हो । यसलाई ५ सिट र ७ सिट गरेर दुई अप्सनमा प्रयोग गर्न सकिन्छ । कोभिड १९ सुरु हुनु केहि दिनअघि मात्रै नेपालमा सार्वजनिक भएको रेनो ट्राइभर अहिले धेरै विक्री हुने ७ सिटर भएको छ ।
झट्ट हेर्दा सामान्य लाग्ने ट्राइभरको विक्री बढ्नुमा यसको मूल्य पहिलो कारण रहेको छ । फ्रेन्च ब्राण्ड रेनोले भारतीय बजारलाई केन्द्रमा राखेर उत्पादन गरेको यो कार अहिले नेपालमा पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा ट्राइभरको ५ भेरियन्ट उपलब्ध रहेको छ । ट्राइबर आरएक्सएल भेरियन्टको मूल्य ३० लाख ९९ हजार, आरएक्सटी भेरियन्टको ३२ लाख ६९ हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३४ लाख ६९ हजार रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ । त्यसैगरी कम्पनीले नयाँ ड्यूलटोन र अटोमेटीक भेरियन्ट पनि नेपाल ल्याएको छ । कम्पनीले ल्याएको आरएक्सजेड ड्यूलटोन भेरियन्टको मूल्य ३४ लाख ९९ हजार र आरएक्सजेड अटोमेटीक भेरियन्टको मूल्य ३६ लाख ४९ हजार तोकेको छ ।

कम्पनीले चाडपर्व अफर चाँडै ल्याउने तयारी गरेको जनाएको छ । यस अफरमा कम्तीमा १ लाखसम्म नगद छुट गर्ने अनुमान गर्न सकिन्छ ।
रेनो ट्राइबरमा १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।

