फास्ट ट्रयाकको फाइनल डीपीआर तयार, ६.०७ किमि सुरुङ निर्माण हुने

काठमाडौं। फास्ट ट्रयाकमा ६.०७ किलोमिटरको टनेल निर्माण गरिने भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकमा ९९ वटा पुल सहित ६.०७ किलोमिटरको टनेल निर्माण हुने भएको छ । 

उक्त टनेल र पुल निर्माणको डिपिआर निर्माण भइसकेको र त्यो हाल रक्षा मन्त्रालयमा बुझाइएको सेना प्रवक्ता यामप्रसाद ढकालले बताए । उनका अनुसार मन्त्रालयबाट डिपिआरको स्वीकृत आउना साथ ठेक्का खोलिने छ ।

‘अहिले डिपिआर रक्षा मन्त्रालयमा पठाइएको छ, डिपिआर मन्त्रालयबाट स्वीकृत भएर आएपछि टेन्डरको काम सुरु गरिने छ,’ ढकालले मेरोअटोसँग भने । 

काठमाडौं–तराई फास्ट ट्रयाक कुल ७६.२ किलोमिटरको हुने छ । काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर रहेको छ  । 

सो सडक मधेसमा २७ मिटरको चौडाइको बन्ने छ भने पहाडमा २५ मिटर चौडाइको बाटो बन्ने उनले जानकारी दिए । ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको फास्ट ट्रयाक चार लेनको बन्ने छ । 

हाइवेको बीचमा फराकिलो डिभाइडर राखिने छ । तराईरमधेस–काठमाडौं जोड्ने द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरियाली कम्पनीले तयार गरेको हो । 

काठमाडौं–तराई फास्ट ट्रयाकमा अहिले पनि काम भइ रहेको छ । ढकालका अनुसार आवश्यक उपकरण तथा पहिरो जाने ठाउँलाई रोक्ने गरी वाल निर्माणको काम भइरहेको छ  । 


Back_to_top