१८ दिनपछि बजारमा आउँदै टीभीएसको नयाँ मोडल, यी ५ नाम चर्चामा

काठमाडौं । टीभीएस मोटर्स कम्पनीले जुलाई ६ मा नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । भारतीय दुई पाङ्ग्रे सवारीसाधन निर्माता कम्पनीले जुलाई ६ मा नयाँ मोडलसार्वजनिक गर्ने भएको हो ।

गतवर्षको जुलाई ६ मा कम्पनीले टीभीएस एनटर्कको एक्सपी भर्सन सार्वजनिक गरेको थियो । यो वर्ष पनि कम्पनीले नयाँ मोडल सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।

योसँगै टीभीएसका सुभचिन्तकहरुमा कम्पनीले कुन नयाँ मोडल ल्याउन लाग्यो भनेर उत्सुकता पैदा गरेको छ । कम्पनीले सार्वजनिक गरेको टीजरमा ह्यासट्याग ‘न्यू वे अफ लाइफ’ लेखिएको छ भने, सँगै एनटर्कको हेडल्याम्प आकारको टी सेपको सिंग्नल राखिएको छ । यसले बजारमा कुन मोडल आउन लाग्यो भन्ने कौतुहलता पैदा भएको हो ।

एनटर्क नयाँ भर्सन वा एनटर्क इलेक्ट्रीक

कम्पनीले सार्वजनिक गरेको टीजर अनुसार यो एनटर्कको हेडल्याम्पसँग मिल्दो डिजाइन रहेको छ । यसका आधारमा भन्दा यो एनटर्कसँग सम्बन्धित छ । गत वर्ष जुलाई ६ मा नै कम्पनीले एनटर्क एक्सपी भर्सन सार्वजनिक गर्नुलाई योसँग जोडेर हेर्न सकिन्छ । यसले एनटर्कको नयाँ भर्सन आउने सक्ने सम्भावना बलियो देखाउँछ । तर, टीजरमा प्रयोग भएको ट्यागलाइनले इलेक्ट्रीक स्कुटर हुन सक्ने संकेत गर्छ ।

टीभीएस सेरोन इलेक्ट्रीक स्कुटर

सन् २०१८ अटो एक्स्पोमा देखाइएको टीभीएसको इलेक्ट्रीक स्कुटर सिरोन तयार भएको अनुमान गर्न सकिन्छ । हालै मात्र बजाजले आक्रमक रुपमा इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादनमा लगानी घोषणा गरेको छ । टीभीएसले हाल इलेक्ट्रीक आइक्यूव विक्री गर्दै आएको छ भने नयाँ इलेक्ट्रीक स्कुटरको रुपमा सिरोन सार्वजनिक गर्न सक्नेछ ।

टीभीएस रेट्रोन

टीभीएसले केही सयम अगाडि रेट्रोन नाम ट्रेडमार्क दर्ता गराएको थियो । टीभीएस रेट्रोन ‘रेट्रो स्टाइल’ मोटरसाइकल हुने अनुमान गरिएको छ । यसलाई कम्पनीले जुलाई ६ मा सार्वजनिक गर्न सक्नेछ ।

टीभीएस जेप्लीन आर क्रुजर

लामो समयदेखि सार्वजनिक गर्ने भनिएको टीभीएसको पहिलो क्रुजर मोटरसाइकल हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । जेप्लीनको नामबाट २०१८ अटो एक्स्पोमा प्रर्दशन गरिएको ‘जेप्लीन आर’को नाममा केही समय अगाडि ट्रेडमार्क दर्ता भएको थियो । जेप्लीन आरको नामबाट कम्पनीले पहिलो क्रुजर मोटरसाइकल ल्याउने पनि धेरैले अनुमान गरेका छन् ।

आरआर ३१० को नयाँ मोडल

अर्को सम्भावना के पनि छ भने कम्पनीले आरआर ३१० को नेकेड भर्सन वा एड्भेन्चर भर्सन ल्याउन सक्नेछ । कम्पनीले केही समय अगाडि एड्भेन्चर मोटरसाइकल ल्याउने चर्चा बाहिर आएको थियो ।


Back_to_top