एमजीले थप ३ नयाँ मोडलको ईभी नेपाल ल्याउन सक्ने

काठमाडौं । मोरिस ग्यारेज (एमजी) चिनियाँ कम्पनी एसएआईसीको स्वामित्वमा रहेको ब्रिटिश ब्राण्ड हो । नेपालमा सन् २०१५ बाट एमजीका कार विक्री वितरण भएको थियो । तर, सन् २०१७ मा आधिकारीक विक्रेता परिवर्तन भएर पारामाउन्ट मोटर्ससँग आएसँगै विद्युतीय कारमा केन्द्रित भएर अगाडि बढिरहेको छ ।

अहिले एमजीसँग चीनमा उत्पादन भएको एचएस एसयूभी, भारतमा उत्पादन भएको हेक्टर एसयूभी इन्टरनल कम्बस्चन इन्जिनमा उपलब्ध मोडल हो । चाँडै कम्पनीले भारतमै उत्पादन भएको एस्टर एसयूभी पनि ल्याउन लागेको छ । यसको अहिले बुकिङ खुल्ला रहेको छ ।

कम्पनीसँग यसअघि उपलब्ध जीएस र जेडएस जस्ता आईसी इन्जिन भेहिकल अहिले विक्री वितरण बन्द भइसकेका छन् । यी मोडलले एमजीलाई नेपालमा चिनाउन सकेन । तर, जब कम्पनीले सन् २०२० मा जेडएस ईभी नेपालमा ल्यायो, त्यसपछि एमजी ब्राण्ड नै इलेक्ट्रीक कार मात्रै बनाउने कम्पनी हो कि जस्तो लाग्ने भयो ।

नेपाल आएको छोटो समयमा एमजीले विद्युतीय सवारीसाधनको विक्रीमा नयाँ आयाम थप्न सफल भयो । त्यसले नेपालमा विद्युतीय कारको प्रयोग बढाउन सहयोग गर्नुको साथै, एमजीलाई नेपालमा वलियो ब्राण्डको रुपमा स्थापित गर्यो ।

आउँदै नयाँ ईभी

पारामाउन्ट मोटर्सले अहिले जेडएस ईभीको लङ रेन्ज र स्टायण्डर्ड गरी दुई मोडल विक्री वितरण गर्दै आएको छ । कम्पनीले केही दिन अघि मात्रै १०० किलोवाट क्षमताको मोटरमा जेडएस ईभीको विक्री सुरु गरेको छ ।

निकै सफल जेडएस ईभीपछि कम्पनीले एमजी फोर र एमजी फाइभ जस्ता मोडल नेपाल ल्याउने तयारीमा छ । कम्पनीले ल्याउने खोजेको एमजी फोर ह्याचव्याक कार हो । यूरोपियन बजारमा निकै सफल बन्दै गएको एमजी फोर राइट ह्याण्ड ड्राइभ मोडल थाइल्याण्डमा सार्वजनिक भएको कारण यो मोडल चाँडै आउने सम्भावना भएको मोडल हो ।

त्यसैगरी बेलायतमा विक्री वितरण हुँदै आएको एमजी फाइभ सेडान पनि नेपाल आउन सक्ने मोडल हो । कम्पनीले यसअघि नै यसको सम्भाव्यता हेरेको भएपनि करका दरमा आएको परिवर्तनपछि यसलाई नेपाल ल्याउने योजना रोकेको थियो ।

एमजीले भारतमा उत्पादन गरेको कोमेट ईभी पनि नेपाल आउन सक्ने मोडल हो । मिनी कारको रुपमा आएको कोमेट कहिले नेपाल आउँछ, त्यो भने जानकारी प्राप्त भएको छैन ।


Back_to_top