काठमाडौं । अबको दुई महिना भित्रै ३० लाखदेखि ५२ लाख मूल्य पर्ने तीन नयाँ मोडल नेपालमा बिक्री सुरु हुँदैछन् । नेपाल आउन लागेका यी तीनवटै मोडल इलेक्ट्रीक हुन् ।
नयाँ मोडलका कार बजारमा आउने भन्ने वित्तिकै धेरैको दिमागमा ईभी नै होन्ने भइसकेको छ । हुनपनि पछिल्ला दिनमा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात खुम्चिरहेको तथ्यांकले देखाउँछ ।
अहिले भारतीय बजारबाट नयाँ कार ल्याउने भन्दा चीनबाट नयाँ ब्राण्ड ल्याउनेहरु बढ्दै गएका छन् । चिनियाँ बजारमा उत्पादन भएका धेरै कारहरु अहिले नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । झण्डै एक दर्जन बढी चिनियाँ ब्राण्डहरु नेपाल आउने क्रममा छन् भने, आधा दर्जन बढी ब्राण्डले आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् ।
नेपालमा यसअघि नै कार बिक्री गर्दै आएका ब्राण्ड र नयाँ ब्राण्डका कारहरु आउन लागेका हुन् । टाटाले आफ्नो माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले ल्याउने पन्च ईभी आकर्षक मूल्यमा आउने सहजै अनुमान लगाउन सकिन्छ । सिप्रदी ट्रेडिङले पन्च ईभीको मूल्य ३० देखि ४० लाख भित्र राखेर बिक्री गर्ने अनुमान गर्न सकिन्छ ।
त्यसैगरी नेटाले यसअघि नै बुकिङ खुल्ला गरेको नेटा एक्स मोडल नेपाल ल्याउने छ । अहिले बजारमा रहेको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने नेटा एक्स आउन लागेका तीन एसयूभी मध्ये सबैभन्दा महंगो हुनेछ । यसको मूल्य ५२ लाख हाराहारी पर्नेछ । सिजी मोटर्सले नेटा ब्राण्डका उत्पादन बिक्री गर्दै आएको छ ।
जीएसी एवोन ब्राण्डको एवोन वाई मोडल बजारमा आउने क्रममा रहेको छ । नेपाली बोर्डरमा देखिएको उक्त मोडल प्रिमियम ह्याचव्याक मोडल हो । यसको मूल्य ४० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । जीएसी एवोन चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याउन लागेको हो ।
कुन मोडलमा कति साइजको ब्याट्री ?

नेटा एक्स एसयूभी डिजाइनमा तयार भएको मोडल हो । यसमा क्वालकमको स्मार्टड्रागन ८१५५ ककपीट दिइएको छ । स्मार्ट ड्राइभिङको लागि पर्फेक्ट मानिने नेटा एक्समा ७२.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले अधिकतम ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

टाटा पन्च ईभी माइक्रो एसयूभी मोडल हो । भारतीय बजारमा निकै सफल मानिएको पन्चलाई कम्पनीले इलेक्ट्रीक भर्सनमा ल्याएको हो । तर, पेट्रोलको तुलनामा यसको डिजाइन बिल्कुलै फरक देख्न सकिन्छ ।
टाटाले पन्च ईभीलाई दुई ब्याट्री अप्सनमा ल्याउने छ । यसको स्ट्याण्डर्ड भेरियन्टमा २५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने लङ रेन्ज भेरियन्टमा ३५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । कम्पनीले स्ट्याण्डर्ड रेन्जले ३१५ किलोमिटर र लड रेन्जले ४२१ किलोमिटर रेन्ज दिने दाबी गरेको छ ।

एवोन वाई ह्याचव्याक कार हो । यसले बजारमा बीवाइडी डल्फीन र एमजी–४ सँग प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ । एवोन वाईमा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ४३० किलोमिटर गुडाउन सकिन्छ ।

