काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आगामी असोजसम्ममा संचालनमा ल्याउने लक्ष्य राखिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन १११६ मिटर लामो सुरुङमार्गको दुईतिहाई बढी (६८ प्रतिशत) काम सम्पन्न भएको हो ।
यसको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ ।सुरुङमार्ग भित्र पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेकाले असोज भित्रै सम्पन्न गरी गाडी गुडाउन बाँकी कामलाई तीव्रता दिइएको हो ।
आयोजनाका अनुसार अहिले सुरुङमार्ग भित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकसाथ अघि बढाइएको छ । सुरुङमार्गको सेकेण्डरी लाइनिङ र इन्भर्टको काम सम्पन्न गरी अहिले लाइट, भेन्टिलेसन, पंखा लगायत उपकरण जडान सुरु गरिएको छ ।
आयोजनाका प्रमुख नवराज बास्तोलाले आगामी असोजसम्म सुरुङमा यातायात संचालन गर्ने लक्ष्य अनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए ।
‘सिद्धबाबा सुरुङमार्ग असोजसम्म संचालनमा ल्याउने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । मुख्य सुरुङमार्गको सिभिल काम सम्पन्न भई विद्युतीकरणको काम भइरहेको छ । बाँकी काम चाँडै सक्नेगरी धमाधम काम भइरहेको छ,’ उनले भने ।
उनका अनुसार निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सुरुङ संचालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्नेछ । त्यसपछिको थप ५ वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’का रूपमा रहने व्यवस्था गरिएको छ ।
सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात संचालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षण सम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ ।पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ ।

यो सुरुङमार्गको ठेक्का ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन-ईपीसी)’ मोडलमा लगाइएको हो । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ ।
२०७८ फागुन २५ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण ५ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ संचालन एवम् मर्मत सम्भार गर्नेछ । आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म रहेको छ ।
यो सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।
वि.सं. २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ। सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ लगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ ।


