भेष्पा–१५० र अप्रिलिया एसआर–१५० मा एबीएस फिचर आउँदै, ४० हजारसम्म महंगो हुने

दुई स्कुटर उत्पादक  कम्पनी भेष्पा र अप्रिलियाले एबीएससहितका स्कुटर बजारमा ल्याउने तयारीलाई अन्तिमरुप दिएका छन् । यी दुई कम्पनीले स्कुटर सेग्मेन्टअन्तर्गत पहिलोपटक एन्टी लकिङ बे्रकिङ्ग सिस्टम उपलब्ध मोडल बजारमा ल्याउने तयारी गरेका हुन् । 

भेष्पा कम्पनीले १५० सीसी सेग्मेन्टमा आधारित भीएक्सएल, एसएक्सएल र एलगेन्ट गरी तीनवटा भेरियन्ट ल्याउने भएको हो । 

त्यस्तै, अप्रिलिया कम्पनीले एसआर–१५० को स्ट्यान्र्ड र रेस गरी दुईवटा भेरियन्टमा एबीएस दिने तयारीलाई अन्तिमरुप दिएको छ । दुबै कम्पनीले एबीएस भेरियन्टमा आधारित उक्त मोडलको मूल्य १० हजार भारतीय रुपैयाँ बढी लिनसक्ने अनुमान गरिएको छ  ।

यी दुबै कम्पनीका स्कुटर नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् । नयाँ फिचरले नेपाली बजारमा यी स्कुटर ४० हजार रुपैयाँँ भन्दा बढीले महंगो हुने संभावना रहेको छ । 

भेष्पाले इलिजेन्ट भेरियन्टमा पुरानै मोडलमा उपलब्ध इन्जिन लगाउने भएको छ । भेष्पा १५० मा उपलब्ध थ्री–भल्भ एयरकुल्ड इन्जिनले ७ हजार आरपीएममा ११.४ बीएचपी पावरकासाथै ५ हजार ५ सय आरपीएममा ११.५ एनएम–टर्क उत्पादन गर्छ । 

अप्रिलिया एसआर–१५० मा १५४.८ सीसी सिङ्गल सिलिन्डर थ्री–भल्भ मोटर लगाइएको छ । यसले ६ हजार ७ सय ५० आरपीएममा १०.२५ बीएचपी पावरकासाथै ५ हजार आरपीएममा ११.४ एनएम–टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा सीभीटी लगाइएको छ । 

भेष्पा १५० को कुल तौल ११४ केजी र एसआर–१५० को तौल १२२ केजी रहेको छ  । 


Back_to_top