काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा सञ्चालित विभिन्न दुईपाङ्ग्रे बिक्री गर्ने कम्पनीले २०१८ मा नयाँ ब्रान्डका साथै विभिन्न मोडल भित्र्याएका छन् । यी कम्पनीको ग्राहकको मोटरसाइकलप्रति बढ्दो चासो र आकर्षणलाई ध्यानमा राख्दै आधुनिक मोडल भित्र्याउने प्रतिस्पर्धा नै चल्यो ।
विशेषत, अटोबजारमा बढी चर्चा कमाएका बजाज, होन्डा, टीभीएस, हिरो, यामाहा, सुजुकीजस्ता कम्पनीले २०१८ मा मोटरसाइकल सार्वजनिक गरे । हामीले २०१८ मा नेपाली बजारमा प्रवेश गरेका केही उत्कृष्ट मोटरसाइकलको मूल्य र विशेषता यहाँ प्रस्तुत गरेका छौँ ।
बीएमडब्ल्यू–जी–३१० जीएस–जी–३१० आर
बीएमडब्ल्यूका लागि नेपालको आधिकारीक वितरक कम्पनी टर्क मोटरले मोटरसाइकल सेग्मेन्टअन्तर्गत भारतीय बजारमा उत्पादन भएको बीएमडब्ल्यू–जी–३१० जीएस र जी–३१० आर नेपाली बजारमा भित्र्याएको छ । यो नेपाली बजारमा प्रवेश गरेको नयाँ ब्रान्डसमेत हो ।

यी दुई मोटरसाइकलमा समान प्रकारको विशेषता भएका बाइक हुन् । दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटरकुल्ड, सिङ्गल सिलिन्डर, फोर–भल्भ इन्जिनको प्रयोग गरिएको छ ।
उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम–टर्क उत्पादन गर्छ । जी–३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी–३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा सिक्स–स्पीड म्यानूअल ट्रान्समिसन दिइएको छ । कम्पनीले जसमध्ये जी ३१० आरमा रातो र कालो रङ्गका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, सेतो रङ्गमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।
त्यसैगरी, रातो र कालो रङ्गमा बजारमा आएको बीएमडब्ल्यू–जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने सेतो रङ्गमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
टीभीएस अपाची आरआर–३१०

टीभीएस कम्पनीले नाडा अटो शो २०१८ मा सार्वजनिक गरेको अपाची आरआर–३१० युवापुस्ताको विशेष रोजाईमा पर्न सुरुभएको छ । टीभीएस अपाचे आरआर–३१०, ३१२ सीसी सिङ्गल सिलिन्डर, फोर–स्ट्रोक, फोर–भल्भ, लिक्विडकुल्ड इन्जिनले २९७०० आरपीएममा ३४ पीएस पावर उत्पादन गर्छ भने २७.३ एनएम–टर्क उत्पादन गर्छ । यसको मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ । यसलाई ब्यवसायीकरुपमा भने कम्पनीले बिक्री सुरु गरेको छैन ।
टीभीएस अपाची आरटीआर–१६० फोर–भी

यही वर्ष टीभीएस अटोमोबाइलको लागि नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोट्र्सले टीभीएस आरटीआर–१६० फोर–भी मोडेल बजारमा ल्यायो । यसमा १५९.७ सीसी सिङ्गल सिलिन्डर, फोर–स्ट्रोक, फोर–भल्भ इन्जिन उपलब्ध छ । उक्त मोटरसाइकलले ८००० आर पीएममा १६.५ पीएस पावर र ६५०० आर पीएममा १४.८ एनएम–टर्क उत्पादन गर्छ । नेपाली बजारमा यसको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ ।
होन्डा एक्स ब्लेड एसटीडी

होन्डाले यो वर्ष नयाँ मोटरसाइकल एक्स–ब्लेड नेपाली बजारमा उपलब्ध गराएको छ । यसको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ तोकिएको छ । होन्डाको एक्स–ब्लेडमा विभिन्न नयाँ फिचर उपलब्ध छन् । सो मोटरसाइकलमा फूल एलईडी हेडलाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता अत्याधुनिक फिचरसमेत उपलब्ध छन् ।
होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले १३.९३ बीएचपी पावर र १३.९ एनएम–टर्क प्रदान गर्छ ।
हिरो एक्सट्रीम–२०० आर

यसैबीच, हिरोले गत नाडा अटो शोमा सार्वजनिक गरेको यस मोडलको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ रहेको छ । एबीएस विशेषता उपलब्ध यस मोटरसाइकलमा उपलब्ध इन्जिनले १८ बीएचपी र १७ एनएम–टर्क दिन्छ । फाइभ–स्पीड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायत विशेषता हिरो एक्सपल्स–२०० मा रहेको छ ।
यामाहा आर–१५ भी थ्री

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आर–१५ भी थ्री मोडल ल्यायो । मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, फोर–स्ट्रोक, फोर–भल्भ र फ्यूल इन्जेक्टेड इन्जिन रहेको छ । यसमा ‘भेरियबल भल्भ एक्च्यूएसन’ (भिभिए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लचजस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा उपलब्ध इन्जिनले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम–टर्क उत्पादन गर्छ । नयाँ आर–१५ भी–३ को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ ।
यामाहा वाइजेड–एफ आर–थ्री नेपाली बजारमा यामाहाको यस मोटरसाइलको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा उपलब्ध ३२१ सीसी लिक्विड–कुल्ड फोर–स्ट्रोक अइट–भल्भ डीओएचसी इन्जिनले ४१ बीएचपी पावरकासाथै २९.६ एनएम–टर्क उत्पादन गर्छ ।
बजाज पल्सर–१५० टीडी

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता एजएच बजाजले १ सय ५० सीसी सेगमेन्टको पल्सरको नयाँ भर्सन नेपालमा भित्र्यायो । पल्सर–१५० ट्वीन–डिस्कमा १४९.५ सीसी सिङ्गल सिलिन्डर डीटीएसआई इन्जिन रहेको छ । यसमा लगाइएको ट्वीन–स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम–टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की र फाइभ–गिएरमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
पल्सर–१६० एनएस टीडी

एचएच बजाजले अल न्यू–बजाज पल्सर एनएस–१६० ट्वीन–डिस्क नेपाली बजारमा ल्यायो । दुई डिस्क–ब्रेक, सार्प डिजाइन र विभिन्न चार कलर भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । पल्सर एनएस ट्वीन–डिस्क १६० दशमलव ३ सीसी सिङ्गल सिलिन्डर डीटीएसआई इञ्जिन दिइएको छ । यसमा लगाइएको ट्वीन–स्पार्क मोटरले ८ हजार ५ सय आरपीएममा १५ दशमलव ५ बीएचपी पावर र ६ हजार ५ सय आरपीएममा १४ दशमलव ६ एनएम–टर्क उत्पादन गर्छ । नेपाली बजारमा यसको मूल्य २ लाख ८६ हजार ९ सय रुपैयाँ रहेको छ ।
यसकासाथै, सन् २०१८ मा नेपाली बजारमा आइएमई समूहले हार्ले डेभिडन ब्रान्डका मोटरसाइकलको बिक्री वितरण सुरु गरेको छ । रमन मोर्टसले रनर ब्रान्डका बाइक तथा स्कुटरको बिक्री सुरु गरेको छ । कम्पनीले नाडा अटोमार्फत् ६ वटा नयाँ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको थियो ।
रोयल इन्–फिल्डले पनि यो वर्ष थन्डरवर्ड–३५० क्लासिक बजारमा ल्याएको थियो । यसले नेपाली बजारमा दुईपाङ्ग्रे सवारीसाधनको बजार विस्तारको अवस्थालाई प्रस्ट देखाएको छ ।


