काठमाडौं । फक्सवागनले उत्पादन गरेको इलेक्ट्रीक कार आईडी-३ विभिन्न तीन व्याट्री अप्सनको साथ बजारमा आउने भएको छ । कम्पनीले आईड्री-३ लाई प्योर, प्रो र प्रो-एस भेरियन्टमा बजारमा ल्याउने भएको हो ।
कम्पनीले प्योर भेरियन्टमा ४५ किलोवाट आवरको व्याट्री प्याक दिएको छ भने प्रो भेरियन्टमा ५८ किलोवाट आवर र प्रो-एसलाई सबैभन्दा ठूलो ७७ किलोवाट आवरको व्याट्री दिएको छ ।
प्योर भेरियन्टले एक पटकको फुल चार्जमा ३३० किलोमिटर रेञ्ज प्रदान गर्छ भने प्रो भेरियन्टले ४२० र प्रो-एस भेरियन्टले ५५० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।
पेयोर भेरियन्टलाई घरायसी बिजुलीबाट ७.२ किलोवाटको चार्जरले चार्ज गर्न सकिन्छ भने प्रो र प्रो-एस भेरियन्टलाई चार्जगर्न ११ किलोवाटको थ्रिफेज विजुलीको आवस्यकता पर्छ ।
फक्सवागनले प्योर भेरियन्टमा ९३ किलोवाटको मोटर प्रयोग गरेको छ । जसले १५० हर्स पावर प्रदान गर्छ । त्यसैगरि प्रो र प्रो-एस भेरियन्टमा १०७ किलोवाटको मोटर जडान गरिएको छ । उक्त मोटरले २०४ हर्सपावर र ३१० एनएम टर्क प्रदान गर्छ ।
फक्सवागनले सुरुवाति खोलेको बुकिङमा ३७ हजार ग्राहकले रकम जम्मा गरेर यसलाई बुक गरेका छन् । यी ग्राहकलाई कम्पनीले जुन २०२० सम्ममा गाडी डेलिभरी दिने तयारी कम्पनीले गरिरहेको छ ।
यी बुकिङकर्तालाई गाडी डेलिभरी दिएपछि मात्रै कम्पनीले रेगुलर बिक्री सुरु गर्ने जनाएको छ ।
फक्सवागनले यी गाडीको मूल्य आधिकारीक रुपमा तोकेको छैन । यद्यपी प्योर भेरियन्टको अन्तर्राष्ट्रि बजारमा मूल्य ३० हजार पाउण्ड भन्दा कम पर्ने अनुमान गरिएको छ । प्रो भेरियन्टको मूल्य ३५ हजार पाउण्ड हाराहारी र प्राे-एसको मूल्य ४० हजार पाउण्डभन्दा कम पर्ने अनुमान गरिएको छ ।
आउन सक्छ नेपाल
नेपाली बजारमा फक्सवागनका गाडी विगत धेरै वर्षदेखि पुजा इन्टरनेशनलले बिक्री वितरण गर्दै आएको छ । प्रिमियम गाडीहरु बिक्री गर्दै आएको पुजा इन्टरनेशनलले कम्पनीको ग्लोवल मोडलको रुपमा आएको आईडी-३ नेपाली बजारमा आउन सक्ने जनाउ दिएको छ ।

