काठमाडौं । स्वीडिस लक्जरी कार निर्माता कम्पनी भोल्भोले भारतमा हाइब्रिड कार एसेम्बल गर्ने भएको छ । भारतीय बजारमा जर्मन लक्जरी कार निर्माताहरूसँग प्रतिस्पर्धा गर्न भारतमै एसेम्बल गर्न लागेको भोल्भोले जनाएको छ ।
प्रदूषणको सवाल व्यापकरुपमा उठिरहेकाले हाइब्रिड कार एसेम्बगर्न लागिएको कम्पनीको भनाई छ ।
भोल्भोले गतवर्ष भारतमा फ्याक्ट्री स्थापना गरेको थियो । आगामी २ देखि ३ वर्ष भित्रमा भोल्भोेले अधिकांश सवारी उक्त प्लान्टबाट उत्पादन गर्ने अनुमान गरिएको छ ।
भोल्भोले २०२५ सम्ममा १० लाखभन्दा बढी विद्युत्बाट चल्ने सवारी बिक्रीगर्ने लक्ष्य लिएको र त्यसमा भारतीय बजारको ठूलो हिस्सा हुने कम्पनीले अपेक्षा गरेको भोल्भो कार इन्डियाका एमडी चार्लस फ्रम्पको भनाई छ ।
विश्वभरमा जस्तै भारतमा पनि विद्युतीय सवारीलाई प्राथमिकता दिइएको उनको भनाई छ । २०२० सम्ममा भारतीय प्लान्टबाट उत्पादन हुने सवारी विद्युतीय हुने भोल्भो इन्डियाले जनाएको छ ।
भारतीय बजारमा मारुति तथा टोयोटाले यसअघि नै हाइब्रिड तथा विद्युतीयकार उत्पादनको काम सुरु भइसकेको जनाएका छन् । त्यस्तै, हुन्डाईले त २०१९ देखि नै भारतमा विद्युतीयकार उत्पादन थाल्ने बताइसकेको छ ।
हाल भोल्भोले विश्वबजारमा सार्वजनिक गरिएको कार जतिसक्दो छिटो भारतीय बजारमा ल्याउने जनाएको छ । भोल्भोले २०१९ मा सार्वजनिकगर्ने पहिलो विद्युतीयकार पनि विश्वबजारसँगै भारतमा ल्याउने अनुमान गरिएको छ । पछिल्लो समय भरतमा भोल्भोका कारले बजार हिस्सा बढाउँदै लगेका छन् ।