काठमाडौं । प्रतिलिटर पेट्रोलले ४५ किलोमिटर माइलेज दिने होन्डा एक्टीभा अब १०० किलोमिटर माइलेज दिने भएको छ ।
तर, १०० किलोमिटर माइलेज पेट्रोलले होइन १ केजी सिएनजी ग्यासबाट चल्लने एक्टीभाले दिने भएको हो ।
करिब ६५ रुपैयाँ प्रतिलिटर मूल्य पर्ने पेट्रोलले भन्दा ४० रुपैयाँ प्रतिकेजी पर्ने सिएनजीले धेरै माइलेज दिने भएको हो । यसले कम लागतमा धेरै किलोमिटर यात्रा गर्न सक्ने भएको छ ।
सिएनजी किटको प्रयोग
होन्डा एक्टीभाका थुप्रै मोडल बजारमा उपलब्ध छन् । कम्पनीले आफै सिएनजी मोडलको अहिलेसम्म लञ्च गरेको छैन । तर, सिएनजी किट मेकर कम्पनी लोभोटोले पुराना एक्टीभा स्कुटरमा किटको प्रयोगगर्न सुरु गरेको छ ।
करिब १५ हजार भारु अर्थात् २४ हजार नेपाली रुपैयाँमा त्यो किट पुराना एक्टीभा स्कुटरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस्ता किटलाई करिब ४ घन्टा लगाएर स्कुटरमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
पेट्रोलबाट पनि चल्छ
भारतीय मिडिया दैनिक भाष्करका अनुसार यो किटको प्रयोगपछि पनि यदी चालकले चाहने हो भने यसलाई पेट्रोलबाट पनि चलाउन सकिने छ । सिएनजी किट लगाउँदा त्यसमा एउटा स्विच लगाइन्छ, जसको प्रयोगले सिएनजी मोड र पेट्रोल मोड दुबैमा स्कुटर चलाउन सकिन्छ ।
सिएनजीको प्रयोगमा केही घाटा
सिएनजी किटको प्रयोगगर्दा केही नोक्सानी पनि हुन्छ । पहिलो यसमा लगाउने सिएनजी सिलिन्डर सिर्फ १.२ केजीको हुन्छ जसको प्रयोगबाट १२० देखि १३० किलोमिटरमात्र स्कुटर गुड्छ । त्यसपछि पुनः सिएनजी भर्नुपर्ने हुन्छ । पेट्रोल पम्पजस्तो सहज सिएनजी रिफिल सेन्टर पाउन कठिन हुन्छ । त्यसले सिएनजी पम्प खोज्न समयको नोक्सानी हुन सक्छ ।
अर्को, यसको प्रयोगले स्कुटरको माइलेज बढ्छ तर उकालो बाटोमा यसको पिकअप भने निकै कम हुने छ । अहिलेसम्म यस्तो अपग्रेड भारतको दिल्लीमा मात्रै हुँदै आएको छ ।

