काठमाडौं । काठमाडौंका सडकमा अब पानी पर्दा ढल नजम्ने भएको छ । काठमाडौं महानगरपालिकाले आईतबारदेखि सडकका मंगल सफा गर्ने कार्यक्रम सुरु गरेको छ ।
झरीमा पानी पर्दा सडकमा मंगालबाट पानी नबगिदिदा सडक नै खोला बन्ने गरेको थियो । उक्त समस्याको समाधानको गर्न महानगरले मुख्य–मुख्य सडकका मंगल सरसफाइको काम सुरु गरेको हो ।
महानगरकाले सडक विभाग, डिभिजन कार्यालय काठमाडौं र वातावरण विभागको समन्वयनमा सडकका मंगल सफा गर्ने काम सुरु गरेको महानगरका सहरी व्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार मुख्यगरि पुतलीसडक, जमल र तिनकुने सडकमा ढल सफा गर्ने काम भइरहेको छ ।
पानी जम्ने क्षेत्रमा पानी परेको समयमा अनुगमन गरी पानी जम्न नदिन महानगरले र्यापीड एक्सन टिम तयार पारेको उनले जानकारी दिए ।
नगर प्रहरी महाशाखा सहितको सो टिमले पानी पर्दा सडकमा हुने जाम हटाउन तत्काल आवश्यक मेसिन तथा औजारको प्रयोगबाट ढल खोल्ने उनले बताए ।
‘हाम्रो यो टिमले जुनसुकै सडकमा पानीका कारण ढल जाम भएमा त्यहाँ पुगेर तत्काल समस्या समाधान गर्ने छ,’ कुँवरले मेरोअटोसँग भने ।
उनका अनुसार सर्वसाधारणले पानी परेको बेला कतै जाम भएको खबर गरेमा टोलीले गएर तुरुन्त जनशक्ति व्यवस्थापन गरि आवश्यक मेसिन औजारको प्रयोगले ढल खुलाउने काम गर्ने छ ।
त्यसकालागि महानगरवासीले महानगरको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गरेमा टोलीले गएर रेक्यू गर्ने छ ।
त्यस्तै तीनकुनेमा पानी परेको समयमा एयरपोर्ट निर्माणको कारण पानी निकास हुने ड्रेन थुनिएकोले उक्त ड्रेनमा माटो बालुवा नआउने गरी व्यवस्थापन गर्न हवाई विभागलाई अनुरोध गरिएको उनले जानकारी दिए ।


