हिरो स्प्लेन्डर प्लसको मूल्य किन एकैपटक साढे १२ हजार बढ्यो ? यस्तो छ कारण

काठमाडौं । सीजी मोटर्सले हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक डिलर लिएसँगै ४ मोडलका मोटरसाइकलको बिक्री सुरू गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत साता एक कार्यक्रमका बीच आफूले बिक्री गर्ने ४ मोडलका मोटरसाइकल समेत सावजनिक गरेको थियो । कम्पनीका अनुसार आज (वैशाख १६ गते) ती मोटरसाइकलहरू डिलर नेटवर्कमा पुग्ने र डेलिभरी सुरू हुनेछ ।

कम्पनीले नेपाली बजारमा पुनः सार्वजनिक गरेको हिरो स्प्लेन्डर प्लसको मूल्य भने एकैपटक साढे १२ हजार रुपैयाँले बढाएको छ । सीजी मोटर्सले स्प्लेन्डर प्लसको मूल्य २ लाख ७ हजार ९०० रुपैयाँ तोकेको छ ।

नेपाली बजारमा यसअघि हिरोका मोटरसाइकल बिक्रेता नेपाल जनरल मार्केटिङले उक्त मोटरसाइकल १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएको थियो । सीजीले डिलरसिप लिएसँगै स्प्लेन्डर प्लसको मूल्य १२ हजार ४०० रुपैयाँले वृद्धि गरेको हो ।

नेपालमा नै एसेम्बल भएको हिरो स्प्लेन्डर प्लसमा बीएस ४ इन्जिन उपलब्ध छ । नेपालमा पछिल्लो १८ महिनादेखि हिरोका मोटरसाइकल आयात हुन सकेको थिएन । लामो समयदेखि आयात हुन नसकेको कारण अहिले केही मूल्य बढेको देखिन्छ । यो बीचमा अन्य ब्राण्डको मूल्य धेरै माथि पुगिसकेको र डलरको मूल्य समेत बढेकाले अहिलेको मूल्य वृद्धि स्वभाविक रहेको कम्पनीको भनाइ छ ।

हिरो स्प्लेन्डर प्लस एक्सटेकमा ९७ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ८.२ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ ।

हिरो स्प्लेन्डर प्लसको प्रतिस्पर्धी मोटरसाइकल बजाज प्लाटिना इएस १०० को मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top