नेपालमै गाडी बनाउने घोषणा : अघिल्लो मोट्रेक्स, अहिलेको गोल्डन ड्रागेन

काठमाडौं । काठमाडौंका तारे होटलको दुईदिनको व्यापार बढाउँदै, संचारमाध्यममा अन्तर्वार्ता र ठूला समाचार छपाउँदै तेस्रो लगानी सम्मेलन २०८१ सम्पन्न भएको छ ।

सरकारले ठूलो तामझाममा साथ विश्वभरका धनाढ्यहरूलाई निम्तो दिएको थियो । विश्वमा नाम चलेका धनाढ्यहरू नआए पनि १ हजार ५०० बढी विदेशी लगानीकर्ता तथा पाहुनाको उपस्थितिमा लगानी सम्मेलन सम्पन्न भयो ।

लगानी सम्मेलनलाई सरकार र निजी क्षेत्रल समेत सफल भनेका छन् । तर, यसले दिने परिणाम के हुन्छ ? भविष्यले नै बताउला । तर, विगतका सम्मेलनबाट हात लागेका उपलब्धीका आधारमा यस सम्मेलनको उपलब्धी भने अनुमान गर्न सक्छौं ।

विदेशी केही पाउना नेपाल आए, दुई दिन बसे, सरकारको नाममा केही शब्द सकारात्मक टिप्पणी गरे । सुधार गर्नु पर्ने विषयको फेहरिस्त सुनाए । अनि भने नेपाल लगानीको लागि उपयुक्त ठाउँ बन्दैछ । राजनीतिक दलमा अभूतपूर्व एकता देखिएको छ । अब लगानी बढ्न सक्छ ।

यसलाई तपाईंले कसरी लिनुहुन्छ ? सोच्दै गर्नुहोस् । तर, नेपाल सरकार कति हावादारी निर्णय लिन्छ भन्ने कुरा यहाँ हेरौं । अहिलेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएको समय वि.सं. २०७५ चैत १५ र १६ गते यत्तिकै तामझामका साथ लगानी सम्मेलन भएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री, शक्तिशाली नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला दोस्रो सम्मेलन भएको हो ।

उक्त सम्मेलनमा कोरियन कार उत्पादन गर्ने भन्दै १० अर्ब लगानी गर्ने सम्झौतामा हस्ताक्षर भयो । कोरियन कम्पनी मोट्रेक्सले नेपालमा वार्षिक ७ हजार यूनिट कार उत्पादन गर्ने लक्ष्य र योजना प्रस्तुत गरेको थियो । ठ्याक्कै ५ वर्ष २ महिनापछि भएको तेस्रो लगानी सम्मेलनमा अर्को एउटा कम्पनीले नेपालमा गाडी उत्पादन गर्ने सम्झौता गरेको छ ।

चिनियाँ कम्पनी चिसिमेन गोल्डन ड्रागेन अटो बडीले नेपालमा गाडी उत्पादन गर्न नेपाली साझेदारलाई अगाडि सारेको छ । कम्पनीले चिनियाँ प्रविधि र लगानीमा नेपालमा सुरूमा चार पाङ्ग्रे साधन उत्पादन गर्ने जानकारी दिएको हो ।

लगानी सम्मेलनमा चिसिमेन गोल्ड ड्रागेनको नेपाली साझेदार कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले प्लान्ट लगाउन आवश्यक जमिन मोरङमा खरिद भइसकेको जानकारी दिएका थिए । तर, कम्पनीले बनाउने गाडी विद्युतीय भनिए पनि कस्तो र कुन ब्राण्डमा आउँछ भन्ने खुलाइएको छैन ।

हामीले चिसिमेन गोल्ड ड्रागेन अटो बडी कम्पनीको बारेमा खोज्दा केही गाडी एसेम्बली लाइनअप देखियो । तर, उसले चीनमा पनि एसेम्बली गरिरहेको बुझ्न कठिन छैन । साना गाडी उत्पादनमा भन्दा कमर्शियल विद्युतीय गाडीमा उत्पादनमा कम्पनीले काम गरिरहेको देखिन्छ । जे होस् यस पटकको ३ अर्ब लगानीमा गाडी उत्पादन गर्ने चिसिमेन गोल्ड ड्रागेन, कोशी एनके मोटर्स र नेपाल सरकारको चाहना पूरा हुन सकोस् ।

३ अर्ब लगानीमा ५ हजार गाडी उत्पादन

चिसिमेन गोल्ड ड्रागेन अटो बडी र कोशी एनके मोटर्सले ३ अर्ब लगानीमा वार्षिक ५ हजार कार उत्पादन क्षमताको प्लान्ट लगाउने घोषणा गरेका छन् । यसबाट के बुझ्न सकिन्छ भने उक्त कम्पनीले नेपालमा गाडी बनाउन लागेको होइन । एसेम्बल प्लान्ट लगाउन खोजेको हो । जुन मोट्रेक्सको भन्दा भिन्न हो ।

मोट्रेक्सले नेपालमा गाडीको लागि चाहिने केही पार्टस् नेपालमै उत्पादन गर्ने जनाएको थियो । कोरियन कम्पनीले ५ वर्ष अगाडि १० अर्व रुपैयाँ लगानी गर्ने भन्दै नेपाली बजारमा प्रवेशको घोषणा गर्दा सरकारले पनि ठूलो सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

चीनबाट पार्टस् ल्याएर चिसिमेन गोल्ड ड्रागेन अटो बडीले नेपालमा गाडी एसेम्बल गर्ने योजना बनाएको छ । उसको योजनाले कस्तो परिणाम ल्याउँछ हेर्न भने केही समय कुर्नै पर्ला । हामी यत्ति कामना गरौं चिसिमेन गोल्ड ड्रागेन अटो बडी अर्को झेली मेट्रेक्स नबनोस् ।


Back_to_top