हुन्डाईको भारत योजना: क्रेटा ईभीदेखि वार्षिक १५ लाख कार उत्पादनसम्म

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारलाई रणनीतिक महत्वको साथ हेर्दै विभिन्न योजना तयार गरेको छ । कम्पनीले आगामी ६ वर्षको लागि भारतीय बजारमा के र कस्ता काम गर्ने भन्ने योजना तयार गरेको हो ।

कोरियन निर्माता हुन्डाई मोटर ग्रुप अन्तर्गतका हुन्डाई र कियाले भारतमा कार उत्पादन गर्दै आएका छन् । त्यसमध्ये सन् १९९८ देखि हुन्डाई र २०१९ देखि कियाले उत्पादन थालेका हुन् ।

अहिले भारतमा १२ लाख यूनिट हाराहारी कार यी दुई कम्पनीको प्लान्टबाट उत्पादन हुन्छन् । जनरल मोटर्सको पलान्ट खरिद गरेर वार्षिक २ लाख यूनिट उत्पादन थप गर्ने लक्ष्य कम्पनीले सार्वजनिक गरेको छ । साथै, हुन्डाई र कियाको अहिलेको प्लान्टको पनि स्तरनोन्नती गर्दै सन् २०२५ बाट वार्षिक १५ लाख यूनिट कार उत्पादन क्षमता बनाउन लागेको हो ।

भारतमा ईभीको बिक्री कमजोर भएपनि निकट भविष्यमा मानिसको चासो ईभीतर्फ मोडिनेभन्दै हुन्डाई मोटर ग्रुपले ईभीमा पनि ठोस योजना तयार पारेको जनाएको छ । अहिले भारतमा टाटाले ईभी सेग्मेन्टमा एकछत्र राज गर्दै आएको छ ।

हुन्डाई र कियाकै ईभी पनि आउने

नयाँ किनेको जनरल मोटर्सको प्लान्टलाई हुन्डाई मोटर्स ग्रुपले ईभी उत्पादन प्लान्ट बनाउन लागेको हो । कम्पनीले यहि प्लान्टबाट नयाँ ईभी मोडलहरु बाहिर ल्याउने बताएको छ ।

‘हामीले नयाँ प्लान्ट ईभी उत्पादनको लागि विशेष बनाउन लागेका हौं । यसको विस्तृत विवरण उचित समयमा दिनेछौं’, हुन्डाई इन्डियाका एमडी तथा सीइओ अन्शु किमले भने ।

भारतीय बजारको लागि विशेष रणनीति तयार गर्न केही दिनअघि मात्रै हुन्डाई मोटर्स ग्रुपका चेयरम्यान चाङ यु-सानले भारत भ्रमण गरेका थिए ।

क्रेटा ईभी पहिलो भारतीय मोडल

हुन्डाईले भारतमा पहिलो ईभीको रुपमा क्रेटा ल्याउने भएको छ । अहिले भारतका विभिन्न क्षेत्रमा परिक्षण चलिरहेको क्रेटा ईभी यहि वर्षको अन्तिम क्वाटरबाट उत्पादनमा जाने बताइएको छ ।

भारत र नेपालमा समेत निकै सफल मानिएको क्रेटा ईभीमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ४५ किलोवाट क्षमताको ब्याट्री प्याक रहनेछ । सम्भवत २०२४ को अन्तिम महिनाबाटै क्रेटा ईभी भारतमा बिक्री सुरु हुनेछ ।


Back_to_top