‘ओरा-३’को मूल्य तीन हजार डलरभन्दा धेरैले घट्यो

काठमाडौं । चाइनीज बजारमा एकपछि अर्को इलेक्ट्रीक भेहिलक ब्राण्डले मूल्य घटाइरहेका छन् । चीनको सबैभन्दा ठूलो ईभी कम्पनी बीवाइडीले मूल्य कटौती गरेसँगै अधिकांश ब्राण्डले मूल्य घटाउँदै लगेका हुन् ।

मूल्य घटाउने दौडमा ग्रेटवाल मोटर्स पनि समावेस भएको छ । कम्पनीले चीनमा चर्चित ईभी मोडल ओरा-३ को २०२४ मोडल सार्वजनिक गर्दै मूल्य घटाएको हो । कम्पनीले फेसलिफ्ट ओरा ३ को एक्टेरियर तथा इन्टेरियरमा अपडेट गरेको छ । साथै, दुई नयाँ कलर र्यागडोल ह्वाइट र स्मोक ग्रे कलर थपिए हो ।

ग्रेटवाल मोटर्सले यसअघि बिक्री गर्दै आएको ओरा-३ को मूल्य १७ हजार ९ सय डलर रहेको थियो । अहिले फेसलिफ्ट मोडलको मूल्य ३ हजार ३०० डलरले घटाएर १४ हजार ६ सय डलर कायम गरिएको छ ।

ग्रेटवाल ओरा-३ को लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम तथा उचाई १५९६ एमएम रहेको छ । यसको ह्वीलवेस २६५० एमएम छ । कम्पनीले ओरा-३ को सबै भेरियन्टमा ‘भेहिकल टु लोड चार्जिङ स्ट्याण्डर्ड फिचर’को रुपमा दिएको छ ।

त्यस्तै, ओरा-३ को लग्जरी भेरियन्टमा लेवल टु एड्भान्स ड्राइभर असिस्ट सिस्टम समेत थपिएको छ । यो सिस्टममा भोइस एक्टीभेटेड अटोनोमस पार्किङ, एआई अटोनोमस पार्किङ तथा मोवाइल फोन रिमोट पार्किङ समेत छ ।

ओरा ३ चीन बाहेक जर्मन, बेलायत, स्वीडेन, थाइल्याण्ड, नेपाल, अष्ट्रेलिया, ब्राजिल, मेक्सीको जस्तो देशमा समेत बिक्री हुँदै आएको छ । विश्वभर ओरा-३ मोडलको बिक्री २ लाख २० हजारभन्दा धेरै यूनिट भइसकेको छ ।

कम्पनीले ओरा-३ सबै यूरोपियन देशहरु, मिडल इष्ट, ल्याटीन अमेरिका, नर्थ अमेरिका, साउथ अमेरिका, यूरेसिया तथा आसियानका थप ९२ देशमा बिक्री सुरु गर्ने योजना बनाएको छ ।


Back_to_top