काठमाडौं । सन् २०२४ सम्ममा आफ्नै ब्राण्डमा इलेक्ट्रीक कार बनाउने घोषणा गरेको शाओमीले उत्पादनमा सहकार्य गर्न चीनको प्रमुख अटोमोवाइल कम्पनीसँग वार्ता गरिरहेको समाचार बाहिर आएको छ ।
पछिल्लो मिडिया रिपोर्टका अनुसार स्मार्टफोन तथा इलेक्ट्रोनिक्स सामान उत्पादनमा अब्बल कम्पनी शाओमीले बेइजिङ अटोमोटीभ ग्रुप कम्पनी (बीएआईसी) सँग उत्पादनको लागि छिटै सम्झौता गर्ने समाचार सार्वजनिक भएका छन् ।
बुम्बर्गकोे एक रिपोर्टका अनुसार आगामी दुई वर्षमा ईभी उत्पादन गर्नका लागि शाओमीले बेइजिङ अटोमोटीभको दोस्रो प्लान्टको हिस्सेदारी खरिद गर्ने सम्भावना रहेको जनाएको छ । आफ्नो उत्पादन प्लान्ट नभएका कारण शाओमीले कार बनाउने लाइसन्स प्राप्त गर्न समय लागिरहेको छ ।
शाओमीले बेजिङ अटोमोवाइलको ईभी ब्राण्ड बीएआइसी व्लुपार्क न्यू इनर्जी टेक्नलोजीसँग साझेदारी गर्नेछ । कम्पनीको यो प्लान्ट अहिले नै पूर्ण ईभी उत्पादनको लागि तयार समेत भइसकेको छैन ।
मिडिया रिपोर्टमा दुबै कम्पनीले ईभी ब्राण्ड व्लुपार्कको उत्पादन क्षमतालाई पूरा प्रयोग गर्न पनि शाओमीसँग सहकार्य गर्न लागेको उल्लेख छ ।


