सुरक्षामा ५ स्टार रेटिङ पाएका दुई एसयूभी, कुनमा कस्ता विशेषता (मूल्यसहित)

काठमाडौं । गाडी किन्न खोज्नेको पहिलो रोजाइमा पर्ने विषय त्यसको डिजाइन, पावर र सुरक्षा फिचर हो । यस्तोमा हरेक कम्पनीले आफ्नो उत्पादनलाई सुरक्षीत, स्टाइलिस र पावरफुल बनाउन निकै मिहेनत गरेका हुन्छन् ।

नेपाली बजारमा उपलब्ध भारत मेड गाडी सुरक्षाको दृष्टिकोणले निकै कमजोर मानिदै आएको थियो । सन् २०१८ मा क्र्यास टेष्ट परिक्षणमा ५ स्टार रेटिङ पाएकाे नेक्सनले पुन: जनवरी २०२० मा पनि परिक्षण गराएकाे थियाे ।  टाटा मोटर्स र महिन्द्राले आफ्नो सब-फोर मिटर एसयूभी टाटा नेक्सन र महिन्द्रा एक्सयूभी-३०० को क्र्यास टेष्ट परिक्षण गरेका हुन् । यी दुबै कम्प्याक्ट एसयूभीले ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ प्राप्त गरेका छन् ।

नेपालमा सन् २०१८ को फेब्रुअरीदेखि बिक्री वितरण हुँदै आएको टाटा नेक्सनले बाटोमा बाक्लो उपस्थिति जनाइसकेको छ भने महिन्द्राले एक्सयूभी-३०० लाई गत कार्तिकबाट बिक्री सुरु गरेको हो ।

टाटा माेटर्सकाे आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सनको बिक्री १००० यूनिट पुराभएको जनाएको छ भने छोटो समयमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेटले एक्सयूभी-३०० को बिक्री सन्तोषजनक रहेको बताएको छ ।

हामीले यी दुबै एसयूभीको स्टायडर्ड मोडलको बीचमा तुलना गर्ने प्रयास गरेका छौं । नेक्सन एक्सई पेट्रोल भेरियन्ट र एक्सयूभी-३०० को ‘डब्ल्यू ४’ भेरियन्टमा यस्ता छन् भिन्नता ।

समान इन्जिन

महिन्द्राले एक्सयूभी-३०० र टाटाले नेक्सनमा समान १.२ लिटर टार्बो चार्ज्ड इन्जिन दिएका छन् । टाटा नेक्सनमा ११९८ सीसी र एक्सयूभी-३०० मा ११९७ सीसी क्षमताको इन्जिन रहेको छ ।

टाटाले नेक्सनमा ३ सिलिण्डर इन्जिन दिएको छ भने महिन्द्राले एक्सयूभीमा ४ सिलिण्डर इन्जिनको प्रयोग गरेको छ । दुबै इन्जिनको आउटपुट समान ५५०० आरपीएममा १०८ बीएच पावर रहेको छ । तर, टर्कमा महिन्द्रा एक्सयूभी-३०० केही अगाडि रहेको छ । एक्सयूभी ३०० को इन्जिनले २००० देखि ३५०० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ भने नेक्सनको इन्जिनले १७५० देखि ४००० आरपीएममा १७० एनएम टर्क प्रदान गर्छ । दुबै कार फ्रन्ट ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेका छन् ।

समान साइज

इन्जिनपछि यी दुबै एसयूभीको साइज पनि लगभग बराबर जस्तै रहेको छ । नेक्सनको लम्बाई ३९९४ एमएम रहेको छ भने एक्सयूभी-३०० को साइज ३९९५ एमएम रहेको छ ।

नेक्सनको चौडाई १८११ एमएम र उचाई १६०७ एमएम रहँदा एक्सयूभी ३०० को चौडाई १८२१ र उचाई १६२७ एमएम रहेको छ । ह्वील बेसमा महिन्द्रा एक्सयूभी-३०० निकै अगाडि रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस रहेको छ भने नेक्सनमा २४९८ एमएम मात्र रहेको छ ।

एक्सयूभी-३०० को ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ भने टाटा नेक्नस ग्राउण्ड क्लियरेन्सको मामलामा अगाडि रहेको छ । यसमा २०९ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

ब्रेकिङ र सस्पेन्सन

महिन्द्राले आफ्नो गाडीको चारै चक्कामा डिस्क ब्रेक दिएको छ भने नेक्सनको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।

गाडीलाई आरामदायी बनाउन सस्पेन्सनको निकै ठूलो भूमिका रहेको हुन्छ । टाटाले नेक्सनको अगाडि कुलिङ स्प्रिङको साथ म्याकफेरसन डियुल पाथ स्ट्रुट र पछाडि कुलिङ स्प्रिङ र सक एब्जर्बरको साथ टुइन बीम सस्पेन्सन दिएको छ ।

महिन्द्राले एक्सयूभी ३०० मा अगाडि म्याकफेरसनको साथ एन्टी रोलबार र पछाडि कुलिङ स्प्रिङको साथ टुइन बीम सस्पेन्सन दिएको छ ।

सुरक्षा फिचर

यी दुबै गाडी ग्लोबल एनक्यापमा भारत मेड भएर ५ स्टार रेटिङ पाउनेमा परेका छन् । यसको मतलव यी दुबै गाडी सुरक्षीत रहेका छन् । यी दुबै एसयूभीमा स्टायडर्ड भेरियन्टमा २ एयरव्याग दिइएको छ ।

समान सुरक्षा फिचरको रुपमा दुबै एसयूभीमा एबीएस, इबीडी, इन्जिन इमोबिलाइजर, चाइल्ड लक सेफ्टी, लुकिङ ग्लासमा साइड टर्न इन्डिकेटर रहेका छन् ।

आरामदायी फिचर

नेक्सनमा एसी दिइएको छ भने एक्सयूभी ३०० मा फुल्ली अटोमेटिक टेम्पेचर कन्ट्रोल दिइएको छ । दुबै गाडीमा हिटर उपलब्ध रहेको छ ।

दुबै गाडीमा फेब्रिक सिट उपलब्ध रहेको छ । नेक्सनमा हेलोजिन हेडल्याम्प छ भने एक्सयूभी-३०० मा प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

मूल्य

महिन्द्राको स्टायडर्ड भेरियन्टको मूल्य ३९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने टाटा नेक्सनको मूल्य ३५ लाख ५५ हजार रुपैयाँ रहेको छ । मूल्यमा नेक्सन एक्सयूभी ३०० भन्दा ४ लाख २० हजार रुपैयाँ सस्तो रहेको छ ।

दुबै गाडीकाे कम्पेरिजन हेर्न यहा क्लिक गर्नुहाेस् ।


Back_to_top