यात्रीले थाल्यो फास्ट चार्जिङ स्टेशन निर्माण, पहिलो वर्ष १५० वटा जडान हुने

काठमाडौं । नेपाली इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी यात्रीले नेपालभर चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । कम्पनीले नेपालभर १५० चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो ।

यात्री मोटरसाइकलका सीइओ बत्सल पान्डेका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यका भित्र २५ वटा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । सन् २०२१ को डिसेम्वरको अन्त्यसम्ममा यात्रीका २५ वटा चार्जिङ स्टेशन उपत्यकामा निर्माण हुने उनले बताए ।

यात्रीले पहिलो चरण्मा उपत्यकामा र दोस्रो चरणमा हाइवेमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो । कम्पनीका अनुसार यात्रीले क्याफे, रेस्टुरेन्ट तथा सपिङ मलहरुमा आफ्नो चार्जिङ स्टेशन निर्माण गर्ने छ । उपत्यका बाहिरका मुख्य सबै शहरहरुका साथै कुरिनटार, मलेखु, मुग्लीन दमौली, मुल्कोट, खुर्कोट, सिन्धुली जस्ता स्थानमा चार्जिङ स्टेशन निर्माण हुने छन् ।

पान्डेका अनुसार नयाँ वर्षलाई लक्षित गरेर यात्री ‘पी १’ बजारमा ल्याउने तयारी भइरहेको छ । त्यसै अनुरुप काठमाडौंको वालुवाटारमा यात्रीको शोरुमसमेत निर्माण भइरहेको छ ।

कम्पनीले लिमिटेड एडिशन ‘पी ०’ र एड्भेन्चर मोडल ‘पी १’ निर्माण गरिरहेको छ । लिमिटेड एडिशन ‘पी ०’ को मूल्य १९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । यो मोडल ५० यूनिट मात्र उत्पादन गर्नेछ ।

यात्री पी-१ मा ३ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिएको छ । यो मोटरसाइकल एकपटक फुल चार्ज गरेर ११० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ ।

टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको यो मोटरसाइकलमा दिइएको व्याट्रीलाई फास्ट चार्जर मार्फत चार्जगर्दा १ घन्टा र रेगुलर चार्जरबाट चार्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले पूर्ण रुपमा एलइडी लाइटको प्रयोग गरेको छ भने, यसको फ्रन्टमा यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक र ट्युवलेस टायर रहेको छ । यात्री ‘पी-१’को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top