१४ इन्चको ह्वील र लामो साइजमा आउँदै यात्री पी-२

काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्री स्कुटर यात्री पी २ निकै ठूलो साइजमा बजारमा आउने भएको छ ।

सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकल कम्पनीले संयुक्त रुपमा उत्पादन गरेको यात्री पी २ स्कुटर १३९० एमएम लामो ह्वीलबेसमा आउने भएको हो ।

यो ह्वीलबेस नेपालमा उपलब्ध अधिकांश इलेक्ट्रीक स्कुटरको औसत ह्वीलबेसभन्दा लामो हो । ह्वीलबेस लामो हुँदा स्कुटर उच्च गतिमा गुड्दा वा खाल्डाखुल्डी भएको बाटोमा पनि बढी सन्तुलित र स्थिर रहन्छ। साथै, लेगरुम फराकिलो हुने भएकाले आरामादायी हुन्छ ।

यात्री पी २ मा १४ इन्चको अलोय ह्वील रहेकाे छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ । जुन नेपाल जस्तो भौगोलिक विविधता र कच्ची सडक भएको स्थानका लागि निकै उपयोगी हो ।

यात्री पी २ को सिटको उचाइ ७९५ एमएम र फुटबोर्ड उचाइ ३०० एमएम छ । कम्पनीले आधिकारिक रुपमा यात्री पी २ को स्पेसिफिकेसन सार्वजनिक गरेको छैन । त्यसैले, यसमा प्रयोग भएको मोटर, ब्याट्री साइज र टेक फिचरबारे जानकारी बाहिरिएको छैन ।

यात्री पी २ को डिजाइन, डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएको हो । त्यसैले यो स्कुटर लन्च अगावै नेपालमा चर्चामा छ । यो स्कुटर भोलिदेखि सुरु हुने नाडा अटो शो २०२६ मा सार्वजनिक हुँदैछ ।

कम्पनीले पी २ लाई हजारौं किलोमिटर परीक्षण गरी देखिएका कमजोरी सुधारेर एउटा प्रफेक्ट मोडलका रुपमा बजारमा ल्याउँदै छ । नेपालमा उपलब्ध अन्य ब्राण्डका स्कुटरमा रहेका कमजोरी सुधार्दै पी २ लाई विशिष्ट किसिमको बनाइएको छ ।

परीक्षणको चरणमा देखिएका तस्बिर र कम्पनीले सार्वजनिक गरेको टिजर अनुसार पी टु झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिन्छ । यसको डिजाइन अन्य स्कुटरभन्दा फरक देखिन्छ ।

अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिन्छ । सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरिएको छ । मिडमाउण्ट मोटर रहेको पी टुमा एलईडी हेडल्याम्प दिइएको छ ।

यसमा आल्मुनियम स्वीङ आर्म, डबल साइडेड स्प्रिङ सस्पेन्सन, सार्प एजहरूको प्रयोग गरिएको छ ।


Back_to_top