‘जिकर-एक्स राइट ह्याण्ड’मा तयार, कसले ल्याउला नेपाल ?

काठमाडौं । नेपालमा समेत बहुप्रतिक्षित ब्राण्डको रुपमा रहेको जिकरले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडल तयार पारेको छ । कम्पनीले राइट ह्याण्ड ड्राइभमा ‘जिकर एक्स’ मोडल बजारमा ल्याएको हो ।

कम्पनीले आफ्नो राइट ह्याण्ड ड्राइभ मोडललाई अष्ट्रेलिया र थाइल्याण्डबाट बिक्री सुरु गर्ने तयारी गरेको छ । नेपालमा पनि करिब दुई दर्जन ब्यवसायीक घराना जिकर ब्राण्ड ल्याउन लागिपरेका छन् । अबको केही दिनमै नेपालको आधिकारिक बिक्रेता टुङ्गो लाग्ने अनुमान गरिएको छ ।

जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले गत मार्चमा भएको बैंकक इन्टरनेशनल अटो शोबाट जिकर एक्स मोडलको प्रि-बुकिङ सुरु गरेको थियो । त्यसैले थाइल्याण्डबाट यसको चाँडै बिक्री सुरु हुनेछ ।

निकै क्लिन ड्यासबोर्ड देखिएको जिकर एक्समा ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । एनिमेटेडड हेडअप डिस्प्ले, वेलकम सिट, एड्जस्टेवल इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।

जिकर एक्स एसयूभीमा ६६ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई फरक सिस्टममा उपलब्ध कार निकै पावरफुल रहेको छ ।

रियर ह्वील ड्राइभ भर्सनमा २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको अल ह्वील ड्राइभ मोडलमा थप ११५ किलोवाटको मोटर छ । यसको अल ह्वील ड्राइभको संयुक्त पावर ३१५ किलोवाट रहेको छ । उक्त मोटरले ३४३ एनएम टर्क प्रदान गर्छ ।

जिकर एक्सले सिंगल चार्जमा ५६० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । तर, यसले सडकमा ४०० किलोमिटर हाराहारी मात्रै रेन्ज आउने पक्का छ ।

नेपाली बजारमा कुन ब्यवसायीक घरानाले यसलाई नेपाल ल्याउने अधिकार प्राप्त गर्छ, त्यो हेर्न भने बाँकी छ । तर, जसले ल्याएपनि मोटर पावर नघटाइ ल्याउने हो भने एउटा पावरफुल ईभी बजारमा आउने छ ।


Back_to_top