काठमाडौं । सीएफ मोटोको उत्पादन जिहो इलेक्ट्रीक स्कुटर नेपालमा बिक्री सुरु भएको छ । सीएफ मोटोको आधिकारिक वितरक अन्ना इन्टरनेशनलले जिहो एई-८ इलेक्ट्रीक स्कुटरको बिक्री सुरु गरेको हो ।
कम्पनीले जिहो एई-८ को दुई महिना अघिदेखि बुकिङ खुल्ला गरेको थियो । कम्पनीले जिहो एई-८ को मूल्य ४ लाख ९० रुपैयाँ निर्धारण गरेको छ ।
अन्ना इन्टरनेशनलले नयाँ कम्पनी रिलायन्स ग्रुपसँगको सहकार्यमा सीएफ मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ ।

चिनियाँ कम्पनी जिहोको उत्पादन एई-८ एग्रेसीभ मस्कुलर डिजाइनमा रहेको छ । यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
कम्पनीले नेपालमा विक्री सुरु गर्ने तयारी गरेको एई-८ स्कुटरमा ५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ हर्सपावर जेनेरेट गर्छ । जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटले ०-५० को स्पीड मात्र २.६ सेकेन्डमा भेट्टाउने छ । यसमा रिमुभ एबल लिथियम आयोन डबल ब्याट्री अप्सन दिइएको छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
स्कुटरलाई फुल चार्ज गर्न ६ घण्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुविधासमेत उपलब्ध छ ।
यो स्कुटरमा ५ इन्चको एलसीडी कर्भ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा तीन राइड मोड, एडप्टीभ हेडल्याम्प, डिस्र्टबेन्स अर्लाम, एन्टि थेफ्ट अर्लाम, स्मार्ट कनेक्ट जस्ता फिचर उपलब्ध छन् ।


