काठमाडौं । एकपछि अर्को ब्राण्डले प्रिमियम मोटरसाइकल बजारमा ल्याइरहेको समयमा ३५० सीसीको नयाँ मोटरसाइकल बजारमा आउने भएको छ । नयाँ आउने मोटरसाइकलको सिधा प्रतिस्पर्धा केटीएम ३९० एड्भेन्चर मोडलसँग हुनेछ ।
गत शनिबार मात्रै ३१० सीसी एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको जोन्टसको आधिकारीक बिक्रेता आइरन मंकले ‘जीटी ३५०’ मोडल बजारमा ल्याउन लागेको हो । कम्पनीले गत शनिवार ‘बाइक्स एण्ड कफी इभेन्ट’ आयोजना गरेर जोन्टेस जीटी ३१० एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको थियो ।
कम्पनीले नयाँ ल्याउन लागेको जीटी ३५० पनि एड्भेन्चर टूरर मोटरसाइकल हो । अबको दुई हप्ता भित्रै जीटी ३५० को बिक्री सुरु गर्ने तयारी भइरहेको कम्पनी स्रोतले मेरोअटोलाई जनाकारी दियो ।
जोन्टेस् जीटी ३५० टीमा ३४८ सीसी सिंगल सिलिन्डर एफआई यूरो ५ इन्जिन रहेको छ । यो इन्जिनले ३८.८ हर्स पावर तथा ३२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा बोश्च कम्पनीको एफआई सिस्टम दिइएको छ । यसमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
यो मोटरसाइकलमा बोश्चले नै उत्पादन गरेको एबीएस, डबल डिस्क ब्रेक, एलएलइडी लाइट, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट, एडजष्टएवल विन्ड स्क्रीन, असिस्ट स्लिपर क्लच जस्ता फिचर पाउन सकिन्छ ।
जोन्टेस जीटी ३५० को सुरुवाती मूल्य १० लाख ५० हजार हुने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकले केटीएम ३९० एड्भेन्चरको अलावा बीएमडब्ल्यू जी ३१० जीएस, येज्दी एड्भेन्चर, रोयल इनफिल्ड हिमालयन जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

