कम मूल्यका २ नयाँ मोडलसहित नाडा अटोमा सहभागि हुँदै टाटा

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२३ मा दुई नयाँ मोडलसहित बलियो उपस्थिति जनाउने भएको छ । कम्पनीले अटो शोमा एउटा इलेक्ट्रीक र अर्को पेट्रोलबाट चल्ने कार ल्याउन लागेको हो ।

सिप्रदीले नेपाल ल्याउन लागेका यी दुबै कार सेग्मेन्टकै सबैभन्दा कम मूल्यका कार हुन् । टियागो ईभी इन्ट्री लेभल ह्याचव्याक हो भने पन्च इन्ट्री लेभल एसयूभी हो । यी दुबै कारको मूल्य हाम्रो अनुमानमा २५ लाखदेखि ४० लाख भित्रै रहने छ ।

आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शो २०२३ विद्युतीय गाडी प्रदर्शनीको स्थल बन्ने अनुमानका बीच टाटाले टियागो ईभी बिक्री सुरु गर्ने भएको हो ।

यसअघि जुलाई २०२३ बाटै नेपालमा बिक्री सुरु गर्ने योजना बनाएको सिप्रदीले त्यसलाई पछाडि धकेलेर आउँदै गरेको चार्डपर्वको अवसरमा यसलाई बिक्री गर्न लागेको हो ।

विगत दुई वर्षदेखि भारतमा निकै राम्रो बिक्री पाइरहेको टाटा पन्च अन्तत नाडा अटो शोमा सार्वजनिक हुने भएको छ । भारतमा २ लाख यूनिट बिक्री पुरा गरिसकेको पन्च सुरक्षाको हिसावले पनि ५ स्टार रेटिङ प्राप्त माइक्रो एसयूभी हो ।

टाटाले यसको इलेक्ट्रीक भर्सनपनि लगभग तयार गरिसकेको छ । सम्भवत यसवर्षको तिहारको वरिपरी यसलाई बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

टाटा टियागो ईभी

टाटाले भारतमा टियागो ईभी २ ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ । यसमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरका दुई फरक ब्याट्रीमा उपलब्ध छ । तर, नेपाल कुन ब्याट्री साइजमा आउँछ भन्ने एकिन छैन । यद्यपि, ठूलो ब्याट्री साइजमै आउने अनुमान गर्न सकिन्छ ।

टियागो ईभी डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने कार हो । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य एसी चार्जरले ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । नेपाल आउँदा ५० किलोवाटको मोटरमा आउने सम्भावना धेरै छ ।

टियागो ईभीमा सिटी र स्पोर्टस गरी ड्राइभ मोड छ । ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा पाउन सकिन्छ । एप्पल कार प्ले र एन्ड्रोइड अटो फिचर रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर छन् ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

टाटा पन्च

सन् २०२२ मार्चमा नै नेपाल ल्याउने तयारी भएको पन्च आयात प्रतिबन्धको कारण नेपाल आएन । त्यसपछि पनि आर्थिक मन्दीको प्रभाव कायम नै रहेको कारण पन्च नेपाल आएन ।

भारतमा विभिन्न ४ भेरियन्टमा विक्री हुँदै आएको भएपनि नेपालमा कति भेरियन्ट आउने छ भन्ने विषयमा अहिलेसम्म कम्पनीले कुनै जानकारी दिएको छैन ।

साइजमा सानो भएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार भएको कारण नै भारतमा यसको विक्री राम्रो भएको मानिन्छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल यसमा पाउन सकिन्छ ।

त्यसैगरी, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर यसको टप भेरियन्टमा छन् । पुस बटम स्टार्ट÷स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचरले पन्च फिचर लोडेड माइक्रो एसयूभी बनेको छ ।


Back_to_top