काठमाडौं । नेपाली बजारमा निसान र डाट्सन ब्राण्डका सात ह्याचब्याक, सात एसयूभी, दुई पिकअप, एक भ्यानसँगै एक सेडान कार बिक्री भइरहेका छन् । निसान र डाट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले विभिन्न मोडलका गरि १८ कार बेच्दै आएको आएको छ ।
कम्पनीले सबैभन्दा सस्तो कारको मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने सबैभन्दा महङ्गो एसयूभीको मूल्य १ करोड ४९ लाख ९९ हजार तोकेको छ ।
नेपाली बजारमा उपलब्ध निसान र डाट्सनका गाडी भारत, थाइल्यान्ड र जापानमा उत्पादन भएका हुन् । डाट्सन ब्राण्ड अन्तर्गत रेडी गो सबैन्दा सस्तो कार हो भने निसान ब्राण्ड अन्तर्गतको माइक्रा एक्स कम मूल्यको कार हो । माइक्राको मूल्य २७ लाख ४९ हजार रुपैयाँमा रहेको छ ।
कम्पनीले बिक्री गर्दै आएको एक्स्ट्रायल एसयूभी निसानको सबैभन्दा महङ्गो गाडी हो । पाँच सिट अप्सनमा उपलब्ध एक्सट्रायलको मूल्य १ करोड ४९ लाख ९९ हजार र ७ सिट अप्सनकाे १ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । हाल, नेपालमा डाट्सन ब्राण्डका पाँच र निसान ब्राण्डमा १३ भेरियन्टको बिक्री भइरहेको छ ।
चाडपर्व अफर
कम्पनीले आउँदो दशै, तिहार, छठ पर्वलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ल्याएको छ । निसान र डाट्सन ब्राण्डका सबै कारमा प्रदान गर्नेगरि कम्पनीले फेस्टिभ अफरकाे रूपमा हरेक कारको खरिदमा ५ पाँच लाखसम्मको छुट दिने जनाएको छ । जसमा फेस्टिभ ड्राइभ क्यास डिस्काउन्ट अन्तर्गत ३ लाखसम्म नगद छुट दिनुका साथै १ लाख रुपैयाँसम्मको फ्रि एसोसरिज, एक वर्षसम्मको सडक कर, तीन वर्षको वारेन्टी र सर्भिसिङको सुविधा प्रदान गर्ने जनाएको छ ।

