काठमाडौं । माइतीघर मण्डलादेखि तीनकुनेसम्मको मुख्य सडकमा साइकल लेन बन्ने भएको छ । उक्त सडकखण्डको २.५ किलोमिटर सडकमा साइकल लेन छुट्टाउन लागिएको हो ।
माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्डमा प्रतिघण्टा ४६ जना साइकल यात्री गुड्ने गरेको तथ्यांक्ले देखाएको छ । यि मध्य ६१ प्रतिशत यात्रीले सामान्य साइकल प्रयोग गर्ने गरेको देखिएको छ । ती मध्ये ८१ प्रतिशत साइकल प्रयोगकर्तालाई साइकल ट्र्याकको बारेमा जानकारी छैन ।
काठमाडौंको सडकमा गुड्ने करीव साढे ६ लाख सवारी साधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ ।
पूर्वाधार विकास तथा लेन सञ्चालनका लागि मंगलबार भएको अन्तक्र्रियामा उक्त तथ्यांक देखाइएको हो । अन्तक्र्रियामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकललेन आवश्यक रहेको बताए ।
काठमाडौं उपत्यकाको सडक राजमार्ग स्तरको मात्रै भएको भन्दै उनले यसलाई सुधार गरेर महानगरले सबै प्रकारका सवारीलाई छुट्टाछुट्टै वा संयुक्त लेनको व्यवस्था गर्ने बताए ।
‘वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने हाम्रो योजना हो,’ सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले तीनकुने सडक खण्डमा साइकल ट्र्याक सञ्चालनमा ल्याएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि बिस्तार गर्न सकिने बताए ।
यात्रामा पहिलो प्राथमिकता पैदल यात्रीको हुन्छ । त्यसैले जुनसुकै पूर्वाधार तयार पार्दा पैदलयात्रीलाई लक्षित गर्नुपर्ने वातावरणबिद् भुषण तुलाधरले बताए । उनले एउटा गाडीका लागि आवश्यक ट्र्याकमा ३ वटा साइकल लेन बनाउन सकिने बताए ।
नेपाल साइकल सोसाइटी, काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट र जर्मनका साइकल अभियन्ता व्यवस्थापन इरिक हकम्यानले साइकलयात्रा व्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा काठमाडौंमा साइकल यात्राका विषयमा गरिएको अध्ययन प्रस्तुत गरिएको थियो ।


