नागढुङ्गा नाकाबाटै दैनिक ५ सय सवारीसाधन काठमाडौ भित्रदै, महानगर पनि अनुगमनमा

काठमाडौं । नागढुङ्गा नाका हुँदै दैनिक ५ सयका हाराहारीमा सवारीसाधन काठमाडौं भित्रदै आएका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले अहिले नागढुङ्गा नाकाबाट दैनिक झण्डै ५ सय वटा सवारीसाधन भित्रिने गरेको बताए ।

उनका अनुसार सोमबार काठमाडौं आएका ३७ वटा सवारीलाई नाकाबाटै फर्काइएको थियो भने मंगलबार १ सय ३ वटा सवारी नाका बाटै फर्काइएको थियो । साथै, लकडाउनको समयमा विदेशी नम्बर प्लेट भएका कुनै पनि सवारीसाधनहरु आउन नदिइएको जानकारी दिए ।

काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज काठमाडौं र धादिङ जिल्लाको सिमाना पुगेकी थिइन् । काठमाडौं बाहिरबाट उपत्यका भित्र धमाधम मानिसहरु आउन थालेको खवर बाहिरिन थालेपछि अवस्थाका बिषयमा जानकारी लिन उनी नागढुङ्गा पुगेकी हुन् ।

उनले नागढुङ्गा र खत्री चोक दुवै ठाउँबाट भित्रिने सवारी र सवारीमा आउने व्यक्तिको अभिलेख राख्ने तरिको अवलोकन गरेकी हुन् ।
सो क्रममा सवारी चालकसँग भित्र आउनु पर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिइएको थियो । साथै, मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क वितरण गरिएको थियो ।

उपप्रमुख खड्गी श्रेष्ठले उपत्यकामा आवश्यक पर्ने खाद्यबस्तु, तरकारी ढुवानी गर्ने ट्रकहरु, पेट्रोलियम बस्तु ढुवानी गर्ने साधनहरु, निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेका भेटिएको बताइन् ।

‘नागरिकको आवतजावत गर्ने अधिकारप्रति संवेदनशील छौं । तर, अहिले आवतजावत गर्ने समय होइन । महामारी नियन्त्रण गर्न जो जहाँ हुनुहुन्छ । त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गर्दछु,’ उपप्रमुख खड्गी श्रेष्ठले भनिन् ।

नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्रिन अनुमति दिने गरेको छ । उनले केही समयका लागि आवगमनलाई कडाइ गर्न निर्देशन दिर्दै महामारी नियन्त्रणमा आएपछि, जनजीवन सहज हुनेभएपछि विस्तारै खुकुलो गरिने बताइन् ।


Back_to_top