काठमाडौं । मोटरसाइकलको वार्षिक कर र लाइसेन्स नविकरणका लागि असार मसान्तसम्ममा राजस्व दाखिला गरे जरिवाना लाग्ने छैन । लकडाउनका कारण नविकरण गराउन नपाएका, म्याद सकिएकाले यो असार मसान्तसम्म कुनै जरिवाना बीना लाइसेन्स नविकरण गर्न पाउने छन् । तर, मोटरसाइकलको नविकरणको काम डिजिटल हुने भएकाले जरिवाना लाग्न सक्ने भएको छ ।
सरकारले असार मसान्तसम्म जरिवाना बीना नविकरण गर्न पाउने भने पनि सिस्टममा त्यो व्यवस्था नहुँदा जरिवाना काटिने सम्भावना रहेको यातायात व्यवस्थापन कार्यालय एकान्तकुनाका प्रमुख सम्बर बहादुर कार्कीको भनाई छ । त्यस्तो अवस्थामा म्यानुयल्ली मिलाउनु पर्ने भएको छ ।
उनले लाइसेन्स नविकरणका लागि म्याद सकिएको ९० दिनसम्म कुनै जरिवाना नलाग्ने व्यवस्था मिलाइएको बताए । लकडाउन अघि ९० दिन कटेकाले भने जरिवाना तिर्नु पर्ने छ । चैत्र ११ गते पछि ९० दिनको समय कटेकाले यो असार मसान्तसम्म नविकरणका लागि कुनै जरिवाना तिर्नु नपर्ने छैन ।
यो अवधिमा लाइसेन्स नविकरण गर्न आउनेको संख्या दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा रहेको उनले बताए ।
यदि तपाईले पुष ११ गते म्याद सकिएको र ९० दिन पनि म्याद सकिएको भए पनि यही असार मसान्तसम्म राजस्व तिर्दा जरिवाना लाग्ने छैन । तर, मोटरसाइकलको नविकरण भने इ–बिलिङबाट हुने भएकाले लाइसेन्स म्याद सकिएको ९० दिन कटेको भए आफै जरिवाना काटिने गरेको कार्कीले बताए ।
गाडीको लाइसेन्स नविकरणका लागि भने इ–बिलिङ सिस्टम नभएकाले त्यसमा जरिवाना शूल्क नलिइएको उनले बताए । उनले हासम्म कुनै पनि सेवाग्राहीसँग जरिवाना नलिई नविकरण गरिएको दाबी गरे ।
‘अहिलेसम्म हामी आफैले नविकरणमा जरिवाना लिएका छैनौँ, सिस्टमबाटै आफै काटिएको भए केही भए होलान्, नत्र असार मसान्तसम्म नविकरणमा कुनै जरिवाना दिइने छैन,’ कार्कीले मेरोअटोसँग भने ।
असार १ गतेदेखि सुरु गरेको नविकरणका क्रममा ९७ लाख रुपैयाँ राजश्व संकलन भएको उनले बताए ।
विगतमा नविकरण म्याद सकिएको ९० दिनसम्म पनि नविकरण नगरे त्यसको दोब्बर जरिवाना लिने गरिएको थियो ।
कोरोना भाइरस बढ्दै गरेको समयमा कार्यालयले सिधै सेवाग्राहीसँग सम्पर्कमा आएर काम गर्नु पर्दा डरमा काम गर्नु परेको उनले बताए ।
हाल कार्यालयहरुबाट सबै प्रकारका सेवा प्रदान गरिरहेको उनले बताए । उनले गाडीको नयाँ दर्ता कहिलेबाट सुरु हुने त्यो अझै विभागबाट जानकारी नआएको बताए । देशैभर नयाँ दर्ता सुरु गरिएको छैन ।
लाइसेन्स वितरणको काम पनि भइरहेको उनले बताए । हाल विभागबाट डेढ लाखका हाराहारीमा डिजिटल लाइसेन्स वितरणका लागि एकान्तकुना कार्यालयमा आएको उनले जानकारी दिए ।


