काठमाडौं । होन्डाले भारतीय बजारमा स्क्र्याम्बलर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा सीबी ३५० आरएस सार्वजनिक गरेको हो ।
यससँगै कम्पनीले ३५० सीसी सेग्मेन्टमा बलियो उपस्थिति देखाएको छ । कम्पनीले यसअघि ३५० सीसी सेग्मेन्टमा नै हाइनेस ३५० सार्वजनिक गरेको थियो । कम्पनीले हाइनेस ३५० को स्पोर्टी भर्सनको रुपमा सीबी ३५० आरएस ल्याएको हो । यसको मूल्य कम्पनीले १ लाख ९६ हजार भारतीय रुपैयाँ एक्स शोरुम प्राइस तोकेको छ ।
सीबी ३५० आरएसमा हाइनेसबाट नै हाफ-डुपलेक्स क्र्याडील प्लेटफर्म लिइएको छ । यसका अलावा यसमा टक र रोल सिट, ड्युअल टोन फ्युल टयांक, स्कीड प्लेट, एलईडी टेलल्याम्प र फ्रन्ट फोर्क बुट तथा आदि छन् ।
सीबी ३५० आरएसमा ३४८.३६ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ५ हजार ५०० आरपीएममा २०.७ बीएच पावर तथा ३ हजार आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै यसमा ५ स्पिडको गियरबक्स तथा इन्जिनमा स्लिपर क्लच दिइएको छ ।
बाइकमा एलईडी हेडल्याम्प, टेलल्याम्प र इन्डिकेटर, अलोय ह्विल, १५ लिटरको इन्धन ट्यांकी र ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् ।

