यी ७ कारण ह्याचव्याक कार सफल, भविष्यमा पनि धेरैको राजाईमा पर्ने निश्चित

काठमाडौं । दैनिक काममा हिड्ने र आफ्नो परिवारका सबै सदस्यहरु एकैपटक यात्रा गर्न सहज हुने भएकोले चारपाङ्ग्रे कार मध्यम वर्गको रोजाइमा पर्ने गरेको छ । त्यसको लागि नेपाली बजारमा सबै खाले कारहरु उपलब्ध रहेका छन् ।

ह्याचव्याक, सेडान, कम्प्याक्ट एसयूभी, एसयूभी, एमपीभी मोडलका गाडी आफ्नो दैनिक आवश्यक्ता अनुसार छानेर खरिद गर्न सकिन्छ । मोटरसाइकलबाट कारमा अपग्रेड हुन चाहने तथा पहिलो पटक कार खरिद गर्न चाहनेहरुको रोजाईमा साना तथा छरिता ह्याचव्याक कारहरु पर्ने गरेको छ ।

नेपाली बजारमा पछिल्लो समय सव कम्प्याक एसयूभीहरुको समेत बाक्लो उपस्थिति रहँदै आएको छ । तर, पनि विक्री संख्याको आधारमा ह्याचव्याक कार सबैभन्दा अगाडि रहेका छन् ।

सानो बाटाहरुमा पनि चलाउन सकिने, घुमाउनको लागि ठूलो ठाँउ नचाहिने तथा पार्किडको लागि समेत सानो ठाँउ भए पुग्ने भएकोले ह्याचव्याक कार धेरै ग्राहकहरुको छनौटमा पर्ने गरेको हो । अझ यस्ता कार खरिदका लागि बजेट पनि सबैको पहुँचमा हुने भएकोले धेरै मानिसको पहिलो रोजाइमा ह्याचव्याक कार हुने गरेको छ ।

आधुनिक प्रविधिहरुको विकास र डिजाइनमा भएको व्यापक परिवर्तनले ह्याचव्याक कार आगामी दिनहरुमा पनि धेरैको रोजाईमा पर्ने बलियो सम्भावना रहेको छ । ह्याचव्याक कार रोजाईमा पर्ने ७ कारणहरुको यहाँ चर्चा गरिएको छ ।

१. सोचेभन्दा धेरै क्यावीन स्पेस

ह्याचव्याक कारको बारेमा झट्ट सोच्दा पहिला मनमा आउने आकृती भनेको सानो कार हो । यस्तो कारमा क्यावीन स्पेस कम हुने आँकलन गर्न सकिन्छ । तर, आधुनिक इन्जिनियरिङले गर्दा ह्याचव्यक कारहरुमा पनि प्रसस्त क्यावीन स्पेस पाइने गरेको छ । यी कारहरुमा पनि सहजै पाँच जना मानिसले आरामदायी यात्रा गर्न सक्छन् ।

२. प्रसस्त बुट स्पेस

कारमा क्यावीन स्पेसको साथै अर्को नभइ नहुने बुट स्पेस पनि हो । अहिलेको नयाँ डिजाइनको आधुनिक ह्याचव्याक कारमा क्यावीन स्पेसको साथै लगेज राख्नका लागि ठूलो बुटस्पेस दिइएको हुन्छ । आजकल यस्ता कारहरुमा सेडान कारको जतिकै बुटस्पेस पाउन सकिन्छ ।

३. कुल डिजाइन

पहिलेका ह्याचव्याक कारहरु डल तथा ड्राइभ गर्नसमेत बोरिङ लाग्ने किसिमको हुन्थ्यो । तर, आजका ह्याचव्याक कारहरुको डिजाइनमा व्यापक परिवर्तन भएको छ । अहिलेका कारहरु हेर्दा चिटिक्क परेका, स्टाइलिस, टे«न्डी डिजाइनमा आउन थालेका छन् । अझ कतिपय कारहरुको डिजाइन कम्प्याक्ट एसयूभी जस्तै देखिने गरेको छ । कारको बडी डिजाइनमा प्रयोग भएको कर्भ सपेहरुले अहिलेका ह्याचव्याक कारहरु निकै आकर्षक देखिने गरेका छन् ।

४. कम मूल्य

चार पाङ्ग्रे सवारी साधनहरु मध्ये ह्याचव्याक कार सबभन्दा सस्तो हुने गरेको छ । कारको इन्जिन तथा बडीसमेत सानो हुने भएकोले अन्य कारहरुको तुलनामा यस्ता कारहरु सस्ता हुन्छन् । जसको कारण यस्ता कारहरु धेरैको बजेटमा पर्ने गरेको छ । धेरै कम्पनीहरुको विभिन्न मोडलका कारहरु मध्ये ह्याचव्याक कारहरु सबैभन्दा धेरै विक्री हुने भएकोले पनि कम्पनीहरुले यस्ता कारहरुको मूल्य सकेसम्म कम राख्न प्रयास गरिरहेको पाइन्छ । धेरै माग हुने भएकोले प्रतिस्पर्धा पनि धेरै हुने हुन्छ फलस्वरुप ग्राहकहरुले आफ्नो मूल्यमा ह्याचव्याक कार छानी छानी खरिद गर्न पाउँछन् ।

५. सहरी तथा साघुँरा बाटोको लागि सजिलो

ह्याचव्याक कारको वाहिरी आवरण सानो साइजको हुने भएकोले जस्तो सुकै साँघुरो बाटाहरुमा पनि सहजै चलाउन सकिन्छ । सहरी क्षेत्रमा ट्राफिक एकदमै धेरै हुने भएकोले तथा यथेस्ट पार्किङ स्पेस समेत नहुने हुँदा ह्याचव्याक कार धेरैको पहिलो रोजाइमा पर्ने गरेको छ । सानो बाटो भए पनि पुग्ने तथा पार्किङको लागि पनि सानो स्पेस भए पुग्ने भएकाले ह्याचव्याक कार सहरी क्षेत्रको लागि एकदमै छरितो हुन्छ ।

६. संचालन खर्च, वार्षिक कर तथा इन्स्योरेन्समा कम खर्च

एक त सानो गाडी अर्को इन्जिन पनि कम सीसीको हुने भएकोले ह्याचव्याक कारहरुमा दैनिक संचालन खर्च ज्यादै कम लाग्ने गरेको छ । कारको इन्जिन टेक्नलोजीमा भएको विकासका कारण यस्ता कारहरुको माइलेज ठूला मोटरसाइकल भन्दा पनि बढी हुन थालिसकेको छ । यस्ता कारहरुको प्रत्येक सर्भिसिङमा फेर्नु पर्ने ल्यूवको साथै कन्जुमेबल पार्टसहरुको मूल्य समेत अन्यको तुलनामा ज्यादै कम हुने गरेको छ ।

सरकारले कारमा रहेको इन्जिन क्षमताको आधारमा लगाउने वार्षिक सडक दस्तुर यस्ता कारहरुमा अन्यको तुलनामा कम हुने गरेको छ । कारको मूल्यनै कम हुने भएकोले वार्षिक इन्स्योरेन्स खर्चसमेत कम आउने गर्छ ।

७. आधुनिक सुविधाले सुसज्जीत

माथि भनिए जस्तै यो सेग्मेन्टमा माग तथा प्रतिस्पर्धा समेत एकदमै धेरै हुने भएकोले कम्पनीहरु कसरी आफ्नो कार उत्कृष्ट बनाउने बारेमा हरदम लागिरहका हुन्छन् । अहिलेका ह्याचव्याक कारहरुमा सुरक्षाका लागि एबीएस ब्रेकिङ सिस्टम, अगाडि दुबैतर्फ एयरव्याग अनिवार्य हुने गरेको छ ।

ड्यासबोर्डमा ठूलो इन्फोटेन्मेट सिस्टम, ब्लुटुथका साथै एन्ड्रोइड अटो र एप्पल कार प्लेले कारलाई सधै कनेक्टेड राख्ने गरेको छ । सहज पार्किडका लागि रियर भ्यू क्यामरा तथा सेन्सरहरुको प्रयोग प्रायः आजकालका सबै ह्याचमा हुने गरेको छ ।


Back_to_top