काठमाडौं । बजाजले नयाँ जेनेरेसन पल्सरको पहिलो मोडल परिक्षण गरिरहेको छ । यसअघि कयौं पटक यसलाई परिक्षणमा देखिएको भन्दै मिडियाहरुले तस्विरसहितको समाचार प्रकाशन गरेका छन् । यद्यपी मोटरसाइकललाई पूर्णरुपमा ढाकेर परिक्षण भइरहेकाले यसमा रहने सबै किसिमका फिचरको विषयमा भने पूर्ण जानकारी दिन सकिने अवस्था छैन ।

परिक्षणको क्रममा देखिएको तस्विरलाई आधार मान्दा बजाज पल्सरको नयाँ मोटरसाइकल सेमी-फियरिङ डिजाइनमा आउने छ । सबै मोटरसाइकलको अगाडि विन्डस्कृन समेत रहेको अनुमान गर्न सकिन्छ तर, प्रस्टसँग देखिदैन । यसमा कस्तो हेडलाइटको प्रयोग भएको छ त्यो भने देख्न सकिदैन ।
निकै आरमदायी राइडिङ पोजीसन, क्लीप अन ह्याण्डलवार, ठूलो इन्धन ट्याङ्की, स्प्लीट एलइडी टेलल्याम्प भने देख्न सकिन्छ । यसमा प्रयोग भएको ह्वील, ब्रेक र सस्पेन्सन भने पल्सर २२० एफको जस्तै देखिन्छ ।
नयाँ जेनेरेशन पल्सर विभिन्न इन्जिन अप्सनमा बजारमा आउने अनुमान गरिएको छ । यद्यपी पहिलो मोडल भने २५० सीसी सेग्मेन्टमा आउने छ । यसको पावर र टर्कको विषयमा अहिल्यै यस्तो हुन्छ भन्ने विषय भन्नु चाँडो हुनेछ । तर, केटीएम ड्यूक २५० मा रहेको इन्जिनमा आधारीत रहने अनुमान भने गर्न सकिन्छ ।
नयाँ जेनेरेशन पल्सर नयाँ प्ल्याटफर्ममा निर्माण भइरहेको छ । यसैले यसमा नयाँ फ्रेम र पहिलो पटक मोनोशक सस्पेन्सको प्रयोग भएको हुनेछ । आगामी अक्टोबरसम्ममा बजारमा आउने अनुमान गरिएको नयाँ पल्सरको थप विवरण क्रमशः बाहिर आउने नै छ ।


