काठमाडौं । लामो निषेधाज्ञाले बजार बन्द अवस्थामा रहेको छ । विस्तारै कोभिड १९ को दोस्रो लहरको प्रभाव कम हुँदै गएको आँकलन सुरु भएसँगै विभिन्न कम्पनीले आफ्ना नयाँ मोडल बजारमा ल्याउने तयारी गरेका छन् ।
विशेषत एसयूभी सेग्मेन्टमा बढ्दो विक्रीसँगै रेनो, स्कोडा र हुन्डाईले नयाँ एसयूभी बजारमा ल्याउनेगरि तयारी गरिरहेका छन् । रेनोको सब फोर मिटर एसयूभी काइगर, स्कोडा कुशक र नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाल आउने क्रममा रहेका नयाँ एसयूभी हुन् ।
हुन्डाई टुसान नेपाली बजारमा नौलो मोडल होइन । तर, हुन्डाईले नयाँ जेनेरशन टुसानमा व्यापक परिमार्जन गरेर बजारमा ल्याउन लागेसँगै यसको चर्चा बढ्दै गएको हो ।
स्कोडा कुशक नेपाल आउने तयारीमा रहेको नयाँ मोडल हो । विशेषत क्रेटा, सेल्टोस, किक्स जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेगरि आउन लागेको कुशक साउन महिनासम्म नेपाल आउने बताइएको छ ।
रेनोले भारतमा उत्पादन गरेको सब फोर मिटर एसयूभी काइगर निषेधाज्ञा सकिएसँगै नेपालमा विक्री सुरु हुने जनाइएको छ । सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा भारतमा चर्चा पाएको काइगर नेपालमा पनि कम मूल्यमा नै आउने अनुमान गर्न सकिन्छ ।
रेनो काइगर

युवा पुस्तालाई ध्यानमा राखेर रेनोले बजारमा ल्याएको काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ ।
छतमा दिइएको स्पोइलर र सार्क फिन एन्टेना काइगरलाई स्पोर्टी देखाउन निकै सहयोग गरेको छ । ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टममा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायत आधुनिक फिचरले काइगरलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।
रेनो काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसमा ५ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ ।
हुन्डाई टुसान

नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ । राउन्ड ड्यासबोर्ड, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम जस्ता फिचर पाउन सकिन्छ ।
यसमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसि भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।
१.६ लिटर टर्बो पेट्रोल, २.५ लिटर पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिन दिएको छ । तर, नेपाल कुन कुन इन्जिन अप्सनमा आउने छ भन्ने विषयमा आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कुनै जानकारी दिएको छैन ।
स्कोडा कुशक

स्कोडाले भारतमा नै उत्पादन गरेको कुशकमा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, क्याविनमा एम्बीयन्ट लाइट तथा सनरुफको प्रयोग गरेको छ । यो एसयूभीमा अगाडि भेन्टीलेटेड सिट रहेका छन् । ६ वटा स्पीकर, वायरलेस चार्जिङ सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, दुई भागमा छुट्टीएको हेडलाइट रहेको छ ।
कुशक एसयूभीमा १.० लिटरको तीन सिलिण्डर टर्बो टिएसआई इन्जिन तथा १.५ लिटरको चार सिलिण्डर टिएसआई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । १.० लिटर इन्जिनसँग फक्वागनको पोलोमा जस्तै ६ स्पीडको म्यानुयल तथा अटोमेटिक ट्रान्समिसन हुनेछ भने १.५ लिटर इन्जिनमा ७ स्पीडको डिएसजी अटोमेटिक तथा ६ स्पीडको म्यानुयल गियरबक्स रहने छ ।
सुरक्षाका लागि यस एसयूभीमा ६ वटासम्म एयरव्याग, अगाडि तथा पछाडि पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, आइएसओ फिक्स चाइल्ड सिट आदि रहेका छन् ।

