काठमाडौं । हिरोले आफ्नो सफल मोटरसाइकल ग्ल्यामरको नयाँ भर्सन बजारमा ल्याउने भएको छ । कम्पनीले ग्ल्यामरको ‘एक्सटीइसी’ मोडल ल्याउने भएको हो । कम्पनीले केही दिन भित्रै भारतमा यसको विक्री सुरु गर्नेछ ।
कम्पनीले होन्डाको एसपी साइनलाई टक्कर दिन नयाँ मोडल ल्याउन लागेको हो । १२५ सीसी क्षमताको इन्जिन रहने नयाँ ग्ल्यामरमा थुप्रै प्रिमियम फिचर समावेस हुने बताइएको छ ।
कम्पनीले तयार पारेको ग्ल्यामर एक्सटीइसी मोडलको प्रेजेन्टेशन बाहिर आएसँगै कम्पनीको नयाँ मोडलको विषयमा जानकारी आएको हो । पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर यसमा भएको सबैभन्दा ठूलो परिमार्जन हो । क्लष्टरमा मोटरसाइकलको गियर पोजिसन, रियल टाइम फ्यूल कन्जमशन जस्ता फिचर उपलब्ध रहने छ । रेगुलर ग्ल्यामरमा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको थियो ।
नयाँ ग्ल्यामरमा एलइडी हेडल्याम्प, तीन कलर अप्सन, बडी हाइलाइट जस्ता परिमार्जन पाउन सकिने अनुमान गरिएको छ । कम्पनीले यसको मूल्य रेगुलर मोडलको तुलनामा ३ हजार भारतीय रुपैयाँ बढी राखेर बिक्री गर्ने अनुमान गरिएको छ ।

यसमा रहेको १२४.७ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिण्डर अफआई इन्जिनले अधिकतम १०.७ हर्स पावर र १०.६ एनएम टर्क प्रदान गर्ने छ ।
नेपाली बजारमा विक्री वितरण हुँदै आएको ग्ल्यामर आइबीएस भेरियन्टको अहिलेको मूल्य २ लाख २४ हजार रुपैयाँ रहेको छ । यस्तोमा कम्पनीले ग्ल्यामर ‘एक्सटीइसी’ नेपाल ल्याउने हो भने यसको मूल्य २ लाख ५० हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
अहिले नेपालमा विक्री हुँदै आएको ग्ल्यामर बीएस ४ इन्जिन भएको मोटरसाइकल हो । यदि ग्ल्यामर ‘एक्सटीइसी’ नेपाल आउने हो भने यसमा बीएस ६ इन्जिन उपलब्ध रहने छ ।


