काठमाडौं । अहिले १६० सीसी सेग्मेन्टमा टीभीएस, होन्डा, हिरो र बजाजले आफ्ना उत्पादन विक्री गर्दै आएका छन् । यो सेग्मेन्टमा धेरै मोडल बीच प्रतिस्पर्धा भइरहेको भएपनि हिरोले ल्याएको एक्स्ट्रीम १६० आर सबैभन्दा नयाँ मोडल हो ।
सन् २०२१ को सुरुवातमा नेपाल आएको यो मोटरसाइकलले बजारमा आफ्नो स्थान खोजिरहेको समयमा नै भएको लकडाउनले यसको उल्लेखनिय विक्री हुन पाएको छैन । तर, हिरोले दिएको सेग्मेन्टमा आकर्षक फिचरको कारण यो मोटरसाइकल चर्चामा भने रहेको छ ।
यही सेग्मेन्टमा बजाजले पल्सर एनएस १६० विगत लामो समयदेखि विक्री गर्दै आएको छ । झट्ट हेर्दा एनएस २०० जस्तै देखिने यो मोटरसाइकल सेग्मेन्टमा राम्रै संख्यामा विक्री हुने मोडलमा पर्छ ।
यस्तोमा हिरो एक्स्ट्रीम १६० आर र बजाज पल्सर एनएस १६० मा रहेका विभिन्नतालाई हामीले यहाँ उल्लेख गरेका छौं ।
मूल्य
बजाज पल्सर एनएस १६० को आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले ३ लाख ८ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री वितरण गर्दै आएको छ ।

ज्याति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) ले नेपालमा विक्री गर्दै आएको हिरो एक्स्ट्रीम १६० आरको मूल्य ३ लाख ३९ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।
मूल्यका हिसावले हिरो एक्स्ट्रीम १६० आर ३० हजार रुपैयाँले महंगो रहेको छ ।
इन्जिन
हिरो एक्स्ट्रीम १६० आरमा सिंगल सिलिण्डर, ओएचसी, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुरुपको १६३ सीसी क्षमताको इन्जिन यसमा छ । उक्त इन्जिनले ८५०० आरपीएममा १५.२२ पीएस पावर प्रदान गर्छ भने ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्छ ।
बजाज पल्सर एनएसमा १६०.३ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । यसको इन्जिन भने भारतीय प्रदुषण मापदण्ड बीएस ४ मा आधारित कार्बुरेटर रहेको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १५.५ पीएस र ६५०० आरपीएममा १४.६ एनएम टर्क प्रदान गर्छ । बीएस ४ इन्जिन भएकै कारण यसको मूल्य कम भएको हो ।
ब्रेक, सस्पेन्सन र टायर

बजाज र हिरोले नै आफ्नो मोडलको दुबै चक्कामा डिस्क ब्रेक दिएको छ भने, यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ । समान १७ इन्चको टायर, स्प्लीट सिट पाउन सकिन्छ ।
एनएस १६० पेरिमिटर फ्रेममा निर्माण भएको हो भने एक्स्ट्रीम १६० आर ट्यूवलर डायमन्ड फ्रेममा बनेको हो । यी दुबै मोटरसाइकलमा अगाडि एन्टी फिक्सन बुस सहितको टेलिस्कोपीक फर्क दिइएको छ । एनएसको पछाडि निट्रोक्स मोनोशक र एक्स्ट्रीमको एड्जस्टेवल मोनोशक पाउन सकिन्छ ।

