काठमाडौं । विश्व प्रसिद्ध लग्जरी कार निर्माता कम्पनी मर्सिडिजले उत्पादन गरेको विद्युतीय कार नेपाल आउने भएको छ । मर्सिडिजले अहिले अन्तर्राष्ट्रिय बजारमा विक्री गरिरहेको केही मोडल नेपाल ल्याउने तयारी भइरहेको हो ।
मर्सिडिजको नेपालको लागि आधिकारीक विक्रेता किशोर गियरका अनुसार नेपाल सरकारले विद्युतीय गाडी आयातलाई केही सहुलियत दिएका यी गाडी नेपाल ल्याउन लागिएको हो ।
‘सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यस्तोमा लग्जरी इलेक्ट्रीक गाडी खोज्नेलाई ध्यानमा राखेर हामी गाडी ल्याउँदै छौं’, किशोर गियरका संचालक किशोर श्रेष्ठले मेरोअटोसँग भने ।
श्रेष्ठका अनुसार केही दिनमा नै कुन मोडल आउँछ भन्ने टुङ्गो लाग्ने छ । अहिले मर्सिडिजले इक्यूसी एसयूभी अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको छ भने र इक्यूएस सेडान चाँडै विक्री गर्ने तयारी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा उपलब्धताको हिसावले इक्यूसी एसयूभी पहिला नेपाल आउने अनुमान गर्न सकिन्छ । कम्पनीले डिसेम्बर २०२१ सम्ममा इलेक्ट्रीक कार नेपाल ल्याउने जनाएको छ ।

मर्सिडिज इक्यूसीमा ८० किलोवाट आवरको व्याट्री प्याक दिइएको छ भने, फोर वाइ फोर ड्राइभिङ सिस्टममा आउने यो एसयूभीमा ३०० किलोवाटको मोटर जडान भएको छ । यसको पीक टर्क भने ७६० न्यूटर्न मिटर रहेको छ ।
करिब २५०० केजी कुल तौल रहेको यो गाडीले सून्यदेखि ६२ किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन ५.१ सेकेन्ड लगाउने छ । यसमा रहेको व्याट्रीलाई फुल चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा विभिन्न ४ भेरियन्टमा यसको विक्री हुँदै आएको छ । जसमा सुरुवाती स्पोर्ट, एएमजी लाइन, एएमजी लाइन प्रिमियम र एएमजी लाइन प्रिमियम प्लस रहेका छन् । यी मध्ये नेपाल कुन कुन भेरियन्ट आउँछ भन्ने खुलाइएको छैन । बेलायती बजारमा यसको सुरुवाती भेरियन्टको मूल्य ६५ हजार पाउन्ड रहेको छ ।

