काठमाडौं । मारुती सुजुकीको नयाँ जेनेरेशन सेलेरियो बजारमा आउन तयार भएको छ । बी सेग्मेन्ट ह्याचव्याक कारको रुपमा बजारमा आउने नयाँ जेनेरेशन सेलेरियो सेप्टेम्बर महिनाबाट भारतमा विक्री सुरु गर्ने तयारी भइरहेको छ । सेलेरियो भारतमा विक्री सुरु भएको केही दिनमा नै नेपाल आउने छ ।
अहिले बजारमा सब फोर मिटर सेग्मेन्टमा बनेका गाडी नै ३० लाखभन्दा कम मूल्यमा आउन थालेको समयमा सेलेरियो करिब २५ लाख सुरुवाती मूल्यबाट बजारमा आउने अनुमान गर्न सकिन्छ । यसले उच्च पर्फमेन्सको सहायता लिएर ग्राहकलाई आकर्षित गर्नु पर्ने हुन्छ ।
टाटा र हुन्डाईले अझै कम मूल्यको माइक्रो एसयूभी बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । यस्तोमा ग्राहकलाई थप छनोट उपलब्ध हुन्छ ।
विशेषत भारतीय बजारमा मारुती सुजुकीका उत्पादन निकै सफल मानिन्छन् । सन् २०१४ मा पहिलो पटक बजारमा आएको सेलेरियो करिब ७ वर्षपछि पहिलो पटक नयाँ जेनेरेशनमा आउन लागेको हो । त्यसैले भारतीय बजारमा यसको प्रतिक्षा बढी रहेको छ । तर, नेपालमा साना इन्ट्री ह्याच र बी सेग्मेन्ट ह्याचको बजार निकै सुस्त रहेको छ । सुस्त बजारमा विक्री बढाउनु सेलेरियोको लागि सहज छैन ।

नयाँ जेनेरेशन मोडलमा कम्पनीले व्यापक परिमार्जन गरेको छ । यसको प्रमोशनल भिडियो खिच्ने क्रममा मिडियाले तस्वीर बाहिर ल्याइसकेको कारण कारको एक्सटेरियरमा गरिएको परिमार्जन देख्न सकिन्छ ।
राउन्डेड ट्रायाङ्गुलर हेडल्याम्प, स्लीम फ्रन्ट ग्रिल, होरिजेन्टल क्रोम स्ट्रीप, फगल्याम्प, अलोय ह्वील, नयाँ डोर ह्याण्डल, कर्भी डिजाइनमा बनेको साइड प्रोफाइल, हाई माउन्टेड स्टप ल्याम्प, रुफ माउन्टेड स्पोइलर, पछाडि वाइपर जस्ता फिचर दिइएको छ ।
यसलाई कम्पनीले दुई इन्जिन अप्सनमा ल्याउने छ । जसमा १.० लिटर र १.२ लिटर पेट्रोल इन्जिन रहने छ । ५ स्पीड म्यानुयल र एएमटी गियरबक्समा आउने छ ।

