यी महिला, जो पतिको मृत्युपछि मालवाहक ट्रक चालक बनिन्

महिलाले वायु सेनाको विमान, फाइटर प्लेन, जेट विमान चलाएको विषयले निक्कै चर्चा पाइरहेका छन् । पुरुषप्रधान देशका रुपमा परिचित भारतका अधिकांश महिला घर व्यवहारकै काममा व्यस्त हुने गर्छन् । तर, अवसर पाए महिलाले पुरुषसँगै प्रतिस्पर्धामा उत्रन सक्छन् भन्ने उदाहरण बनेकी छिन्, भोपालकी योगिता रघुंवशी । उनी मालबाहक ट्रक चलाउने पहिलो भारतीय महिला हुन् ।

ट्रक ड्राइभरको काम स्वभाविकरुपमा निक्कै अप्ठ्यारो, जोखिमपूर्ण र अशुरक्षित मानिन्छ । करिब १५ वर्षदेखि ड्राइभरको भूमिका निभाइरहेकी योगिता बाध्यतावश यो पेशामा लागेको बताउँछिन् । तर, उनमा देखिएको शाहस र निपूणताले योगितालाई भारतीय इतिहासकै बहादुर महिलाको उदाहरण बनाएको छ ।

योगिता महाराष्ट्रको नन्दुबारमा बस्ने गर्छिन् । उनका पति वकिल थिए भने, साइड बाइ साइड ट्रान्सपोर्टको व्यापार गर्ने गर्थे । विवाह भएको केही समयपश्चात् उनको पतिको मृत्यु भयो । योगिताको काँधमा आठ वर्षकी छोरी र चार वर्षका छोराको जिम्मेवारी थपियो । पतिको मृत्युपश्चात् योगिताले पतिले सम्हाल्दैआएको ट्रान्सपोर्ट विजनेशमा हात हालिन् । सुरुवातामा उनीसँग तीनवटा ट्रक थिए ।

उनले ड्राइभर र सहयोगीकासाथ लिइन् । योगिताले विस्तारै ट्रक चलाउन सिक्न थालिन् । करिब एक महिनापश्चात् पूर्णरुपमा ट्रक चलाउन थालेकी योगिताले ट्रक चलाएको एकदशक पूरा भैसकेको छ । योगिताले रातभर ड्राइभिङ गर्नुपरेको, पुरुषको हमला खेप्नुपरेको, परिवारसँग बिछोडिनुपरेकोलगायत कयौँ अवस्था भोगेककी छिन् । कयौँपटक चुनौतीपूर्ण अवस्थाको अनुभव बटुलेकी छिन् ।

विपरीत परिस्थिति सबैको जीवनमा आउँछ, तर संघर्ष र शाहसले मानिसलाई उदाहरणीय बनाउँछ । धैर्य र बहादुरीकी उदाहरण योगिता विभिन्न प्रतिष्ठान, संस्था तथा व्यक्तिद्वारा सम्मानीत भैसकेकी छिन् ।


Back_to_top