काठमाडौं । इन्डो जापानी ब्राण्ड मारुती सुजुकीले तीन वर्ष भित्र ५ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । ग्राहकको आकर्षण एसयूभी सेग्मेन्टमा बढ्दै गएको कारण कम्पनीले अबको तीन वर्ष भित्र ५ नयाँ एसयूभी ल्याउन लागेको हो ।
भारतमा सर्वाधिक सवारी साधन विक्री गर्ने मारुती सुजुकी एक्लैले करिब ५० प्रतिशत बजार हिस्सा ओगटेको थियो । पछिल्लो समय यो घटेर ४३.५ प्रतिशतमा झरेको छ । आफ्नो बजार हिस्सा कायम राख्न कम्पनीले नयाँ मोडलका एसयूभीहरु ल्याउन लागेको हो ।
कम्पनीले ल्याउने एसयूभीमा जिम्नी, नयाँ जेनेरेशन ब्रेजा, कम्प्याक्ट एसयूभी, मिडसाइज एसयूभी र प्रिमियम एसयूभी हुनेछन् ।
मारुती सुजुकीले सबैभन्दा पहिला आफ्नो २०१६ मा बजारमा आएको ब्रेजाको नयाँ जेनेरेशन मोडललाई बजारमा ल्याउने अनुमान गरिएको छ । नयाँ ब्रेजामा अहिले दिइएको १.५ लिटर इन्जिनलाई अपग्रेड गरेर हाइब्रिड टेक्नोलोजी सहित बजारमा ल्याउने अपेक्षा गरिएको छ । कम्पनीले यसको डिजाइन, इन्टेरियर र सुरक्षा फिचरमा विशेष बदलाव गर्न लागेको बताइन्छ ।
सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नी भारतमा उत्पादन सुरु भइसकेको छ । अहिले भारतमा उत्पादन गरेर निर्यात सुरु भएको जिम्नी सन् २०२२ को पहिलो क्वाटरमा नै भारतमा विक्री सुरु हुने अपेक्षा गरिएको छ । महिन्द्रा थारसँग सिधा प्रतिस्पर्धा गर्ने जिम्नीमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । सम्भवत कम्पनीले भारतीय बजारको लागि ५ ढोका दिएर जिम्नी बजारमा ल्याउने छ ।
कम्पनीले बलेनोको हर्टटेक प्लेटफर्ममा नयाँ क्रसओभर एसयूभी बनाइरहेको छ । उत्पादन कोण नेम ‘वाईटीबी’ दिएर काम भइरहेको यो क्रसओभरले हुन्डाई भेन्यू र किया सोनेटको टप भेरियन्टसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । कुपे डिजाइनमा तयार हुने यो मोडलले बजारमा प्रिमियम गाडी चाहने ग्राहकको इच्छा पुरा गर्ने मारुती सुजुकीले अपेक्षा गरेको छ ।
क्रेटा, सेल्टोस, कुशक र टाइगुन जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले टोयोटासँग मिलेर बनाउन लागेको एसयूभी पनि बजारमा आउने पक्का भएको छ । सन् २०२३ मा मात्रै बजारमा आउने यो एसयूभीलाई कम्पनीले उत्पादन कोण नेम ‘वाईएफजी’ दिएर काम गरिरहेको छ । करिब ४.३ मिटर लामो साइजमा आउने यो एसयूभी डाइहात्सुको डिएनजीए प्लेटफर्ममा बन्ने छ । यसमा पनि हाइब्रिडको साथ १.५ लिटर क्षमताको इन्जिन रहने अनुमान गरिएको छ ।
सन् २०२४ मा कम्पनीले प्रिमियम एसयूभी बजारमा ल्याउने तयारी गरेको छ । थ्रि रो (७ सिट) क्षमतामा आउने यो एसयूभी मारुती सुजुकीको सबैभन्दा माथिल्लो मोडल हुनेछ । कम्पनीले यसलाई ‘वाई१७’ कोण नेम दिएर उत्पादनको काम अगाडि बढाइरहेको छ ।


