काठमाडौं । काठमाडौंबाट बाहिर निस्कने र काठमाडौं भित्रने सबैभन्दा चल्तीको नाका नागढुङ्गामा हुने जाम घटाउन सरकारले निर्माण गरिरहेको नौबिसे-नागढुंगा सुरुङ मार्ग निर्माणले गति लिएको छ । सुरुमा भएको स्थानीयको अवरोध, मुआब्जा विवाद, जनशक्ति अभाव, कोरोना कहरको बीच निर्माण सुरु भएको आयोजनाले एक वर्षमा ३० प्रतिशत काम सम्मपन्न गरेको छ ।
नागढुंगा नौबिसे सुरुङमार्गका कन्सल्टिङ इन्जिनीयर रमेशप्रसाद कोइरालाका अनुसार अहिले मासिक ३०० मिटर सुरुङ खन्ने गरी काम भइरहेको छ । दशैंअघि दैनिक ६ मिटर सुरुङ खनिँदै आएकोमा अहिले त्यो बढेर हाल १० मिटर पुगेको छ ।
अहिले काठमाडौं र धादिङ दुबै तर्फबाट झण्डै ४/४ सय मिटिर सुरुङ खन्ने काम सकिएको कोइरालाले जानकारी दिए ।
त्यसैगरी, स्केप सुरुङ अन्तर्गत हालसम्म १ हजार २९० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७५८.५० मिटर र धादिङतर्फ ५३१ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका-१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनीबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । सुरुङमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
सुरुङको हरेक ३०० मिटरमा मेन सुरुङ र स्केप सुरुङ जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

अहिले सुरुङ भित्र ५०/६० जनाले काम गर्छन् । जापानिज जनशक्तिले निर्देशन दिन्छन्, भने नेपाली जनशक्तिले त्यो निर्देशन अनुसार काम गर्छन् । सुरुङ बाहिरको कामलाई २०० नेपाली जनशक्ति खटिएका छन् । आयोजनामा करिब आधादर्जन संख्यामा फिलिपिनो जनशक्ति समेत रहेका छन् ।
सुरुङ बाहिर मेन सुरुङमा लाइनिङ कङ्क्रिट (चिल्लो बनाउने) राख्नका लागि ‘फम वर्क’ भइरहेको छ । अहिले लाइनिङ कङक्रिट राख्ने काम भएको छैन । अहिले वाटर प्रुफ मेम्रेन राख्ने काम भइरहेको छ ।

सुरुङ बाहिर सडकमा ४५ मिटर वर्कपास ब्रिज बनाउने काम सम्पन्न भएको छ । नागढुंगा सुरुङमार्गबाट बाहिर बलम्बु जोड्ने एप्रोच रोड निर्माण गरिँदै छ । बलम्बुमा फ्लाइओभर बन्नेछ ।

