काठमाडौं । भारतमा उत्पादन भएका हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक र निसान किक्स जस्ता उत्पादनलाई टक्कर दिन टोयोटाले नयाँ एसयूभी बनाउने भएको छ ।
टोयोटाले भारतमा नै बनाउने यो एसयूभी मूल्यको हिसावले सस्तो हुनेछ भने यसको सिधा प्रतिस्पर्धा माथि उल्लेख भएका गाडीसँग हुनेछ । कम्पनीले यही २०२२ को अन्तयबाट यसको विक्री सुरु गर्ने अपेक्षा गरिएको छ ।
टोयोटाले नयाँ एसयूभीको मूल्य प्रतिस्पर्धी राख्न मारुती सुजुकीसँगको सहकार्यमा भारतमा पार्टस्हरु उत्पादन गर्नेछ । यसअघि मारुती सुजुकीको बलेनो र ब्रेजालाई टोयोटाले ग्लान्जा र अर्वान कुजर नामबाट विक्री गर्दै आएको थियो । तर, यो नयाँ एसयूभी टोयोटाले आफ्नो प्लान्टमा उत्पादन गर्नेछ भने, मारुती सुजुकीको लागि पनि सप्लाई गर्ने जनाइएको छ ।
डाइहात्सुको मोडुलर प्लेटफर्म (डिएनजीए)मा आधारित रहेर उत्पादन हुने नयाँ एसयूभीमा कुन इन्जिन रहने छ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन । यद्यपी कम्पनीले १.५ लिटर क्षमताको इन्जिनमा नै नयाँ मोडल बजारमा ल्याउने अपेक्षा गरिएको छ ।
भारतमा उत्पादन भएको इटिओस फ्यामली नेपालमा असफल भएसँगै टोयोटाले फर्चुनर बाहेक अन्य मोडल भारतबाट ल्याएर विक्री गरिरहेको छैन । एसयूभी सेग्मेन्ट र प्रतिस्पर्धी मूल्यमा नयाँ एसयूभी आउने हो भने पक्कै नेपाल आउने छ ।

