काठमाडौं । इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले भारतमा पहिलो इलेक्ट्रीक गाडी ल्याउने तयारीलाई तिब्रता दिएको रिपोर्टहरु बाहिर आएका छन् । पछिल्लो एक वर्षमा विद्युतीय गाडीको बजार कम्पनीहरुले अनुमान गरेभन्दा तिब्र गतिमा विस्तार भएसँगै सुजुकीले पहिलो इलेक्ट्रीक गाडी उत्पादनलाई तिब्रता दिएको हो ।
मारुती सुजुकीले कोड नेम ‘वाईवाई-८’ राखेर यसलाई उत्पादनको प्रक्रियामा लगेको दावी मिडिया रिपोर्टहरुले गरेका छन् । मारुती सुजुकीले यसलाई एसयूभी बडी स्टाइलमा ल्याउने छ । सम्भवत टाटा पन्चसँग प्रतिस्पर्धा गर्नेगरी नयाँ मोडल बजारमा अउने छ ।
सन् २०१८ मा नै ५२ यूनिट वागेनआर इभीको प्रोटोटाइप तयार गरेर परिक्षण गरिरहेको कम्पनीले यसलाई बजारमा ल्याएको छैन । मिडिया रिपोर्टलाई आधार मान्ने हो भने वागेनआर इभीको रेन्ज, पावर र फिचरको कमी देखेसँगै कम्पनीले नयाँ मोडलको तयारी गरेको हो ।
जापानी ब्राण्ड टोयोटासँगको सहकार्यमा तयार भइरहेको नयाँ इलेक्ट्रीक एसयूभी सन् २०२४ सम्ममा बजारमा आउने अपेक्षा गरिएको छ । त्यसको लागि वार्षिक १ लाख ५० हजार यूनिट इलेक्ट्रीक कार उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट टोयोटा र सुजुकीले साझेदारीमा तयार गरेका छन् ।


